नेपाललाई अलग राखेर भारतमा कोरोना नियन्त्रण हुँदैन - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

नेपाललाई अलग राखेर भारतमा कोरोना नियन्त्रण हुँदैन


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोना भाइरस महामारी नियन्त्रण हुन नसक्ने प्रष्ट गरे ।

नेपाल भारतबीचको सम्बन्ध चिली र अर्जेन्टिनासँगको जस्तो होइन भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’

नेपाल र भारतबीचको सम्बन्ध अरु देशको जस्तो नभएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई आग्रह गभने ‘खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन । यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

महामारीमा के चीनले नेपाललाई बढी सहयोग गरिराखेको छ ? भन्ने प्रश्नमा दुबै छिमेकीले महामारीका समयमा सघाइरहेको भन्दै ओलीले भने, ‘यो समयमा राजनीतिलाई बीचमा ल्याउनु हुन्न । यो खोपको मामिला हो, यसबारे राजनीति गर्नु जरुरी छैन । दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’

भारतसँगको गलत बुझाइ र असमझदारी हटेको भन्दै उनले विगतको अँध्यारोमा अल्झिएर होइन चम्किलो भविष्यलाई पछ्याउँदै अघि बढ्नु जरुरी छ भने ।