देशभर निषेधाज्ञा खुकुलो बनाउने तयारी - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

देशभर निषेधाज्ञा खुकुलो बनाउने तयारी


काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सरकारले निषेधाज्ञालाई अब खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ । दोस्रो चरणको कोरोना संक्रमण शुरु भएपछि १६ बैशाखबाट जारी निषेधाज्ञालाई सरकारले विस्तारै खुकुलो बनाउँदै लैजाने तयारी गरेको हो ।

गृह मन्त्रालयले निषेधाज्ञालाई विस्तारै यो शैलीमा खुकुलो बनाउँदै लैजान निषेधाज्ञा कायम गरिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशनसमेत गरिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनजीवनलाई सहज बनाउने गरी अब निषेधाज्ञालाई ‘लुज डाउन’ शैलीमा लैजाने तयारी भएको जानकारी दिए ।

‘निषेधाज्ञालाई अब जनजीवनलाई सहज बनाउने गरी अघि बढाउने सरकारको योजना छ, निषेधाज्ञा एकै पटक खुल्दैन,’ गृह प्रवक्ता दाहालले भने । उनका अनुसार प्रमुख जिल्ला अधिकारीहरुबाट प्राप्त रायका आधारमा यस्तो शैली अपनाउन लागिएको हो । यो शैली अन्तर्गत निर्माण कार्यलाई खुल्ला गर्ने सरकारको तयारी छ ।

यसैगरी उत्पादनमूलक व्यवसाय पनि अब खुल्ला गर्ने सरकारको तयारी छ भने कृषी कार्यलाई पनि खुला गर्ने सरकारको तयारी रहेको छ ।

तर विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुलाउने सरकारको योजना छैन । सामूहिक उपस्थिति हुने विवाह, व्रतवन्ध, सभा, गोष्ठीहरु तथा अन्य भीडभाड हुने कार्यक्रमहरु संचालनमा अझै केही समय रोक लगाइने सरकारी तयारी छ । यस्तै यातायात व्यवसाय पनि केही समय बन्द नै हुनेछ ।

गृह प्रवक्ता दाहालले सार्वजनिक यातायातलाई केही समय बन्द नै गर्नुपर्ने अवस्था रहेको भन्दै सो विषयमा यातायात व्यवसायी र भौतिक मन्त्रालयसँगसमेत समन्वय गरेर अघि बढिने जानकारी दिए । यसरी अघि बढ्दा स्वास्थ्य मन्त्रालयसँगसमेत राय लिइने उनले जानकारी दिएका हुन् ।