काठमाडौं । नेकपा (एमाले)भित्र आन्तरिक कलह चुलिरहेका बेला सुदूरपश्चिम प्रदेशमा नौलो घट्ना भएको छ । एमाले स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेको सुदूरपश्चिम सरकारलाई माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुले जोगाएका छन् । एमाले स्थायी कमिटीको सरकारबाट समर्थन फिर्ता लिने निर्णयको बिपरित मंगलबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा मतदान गरेर माधव पक्षले सरकार जोगाएको हो ।
प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री भट्टले पाएका ३० मत मध्ये १७ मत माधव पक्षीय एमालेका प्रदेश सभा सदस्यका हुन् । मुख्यमन्त्री भट्टको पार्टी नेकपा माओवादीका १३ मत हुन् । प्रदेश सभामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले बिपक्षमा मतदान गरेका हुन् । कांग्रेसका १२ जनाले मतदानमा भाग लिएनन् ।
स्थायी कमिटीको निर्णयको लगत्तैदेखि एमाले पार्टीले सरकारबाट समर्थन फिर्ता लिन संसदिय दलका नेता, पदाधिकारी र मन्त्रीहरुलाई निरन्तर स्पष्टीकरण सोध्ने गर्दै आएको थियो । मंगलबार मतदानको अघिल्लो दिन सोमबार मुख्यमन्त्रीको बिपक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।
सरकारबाट समर्थन फिर्ता लिने निर्णय र निर्णयको कार्यान्वयनका लागि एमाले सुदूरपश्चिम प्रदेश कमिटीले निर्देशन दिएको भएपनि माधव समुहको दुई तिहाइ भन्दा बढी सदस्य रहेको संसदिय दलको बैठकले पार्टी निर्देशनलाई किनारामा राखेर मुख्यमन्त्रीलाई बिश्वासको मत दिने निर्णय गरेको थियो । त्यस निर्णयमा केपी पक्षीय सात जनाले हस्ताक्षर गरेका थिएनन् ।
एक साता अघिदेखि केपी पक्षमा खुलेका तारा लामा तामाङ्ग र कुलबीर चौधरी पनि मंगलबारको संसदिय दलको बैठकमा सरकारलाई समर्थन दिने निर्णयका पक्षमा उभिए । यसले माधव पक्षमा रहेका प्रदेश सभा सदस्यहरुको संख्या १७ पुगेको छ ।
सुदूरपश्चिम सरकार जोगाउन एमालेका प्रदेशसभा सदस्यहरुले भट्टलाई विश्वासको मत दिएका हुन् । एमालेका सांसदहरुको मतले माओवादीका तर्फबाट प्रदेश मूख्यमन्त्री बनेका भट्टको सरकार जोगिएपछि ओली समूहका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै माधव नेपाल पक्षका नेताहरुलाई कांग्रेस माओवादी भएको जनाएका छन् ।
ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन दुई दिन अघि पुरानो कमिटी व्यूँताउने घोषणा गरेपनि नेपाल पक्षले त्यसलाई धोकाको संज्ञा दिएर सुदुरपश्चिम प्रदेशमा आफू निकटका सांसदलाई मूख्यमन्त्री भट्टको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो । सोही अनुसार उनीहरुले मतदान गरेका हुन् । तर ओली पक्षले भने उनीहरुले पार्टीलाई विश्वासघात गरेको जनाएका छन् ।