ओलीको प्रस्ताव इमानदार मान्न सकिदैन - रुपान्तरण
 २०८१ जेठ ३, बिहीबार    

ओलीको प्रस्ताव इमानदार मान्न सकिदैन


काठमाडौं । एमालेका उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्ताव इमान्दार नभएको बताएका छन्।सोमबार अपराह्न बसेको पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकले ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमानदार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको गौतमले बताएका हुन्।

एकता अभियानका संयोजक गौतमले मङ्गलवार विज्ञप्ति जारी गरी ओलीको प्रस्तावमाथि शङ्कासहित एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने कुरा भने सकारात्मक रहेको जनाएका छन्।

तर एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित भएको बताएका छन् ।

गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न पनि उनले सुझाव दिएका छन् ।