देउवाले भनेजस्तै भदौमै महाधिवेशन हुने संभावना कति ? - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

देउवाले भनेजस्तै भदौमै महाधिवेशन हुने संभावना कति ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन आगामी भदौमा नै हुने बताएका छन् । तर कांग्रेसले तयार गरेको निर्वाचन तालिका अनुसार त्यो कति संभव छ भन्ने विषय पेचिलो बनेको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले पूर्व निर्धारित मितिमा नै १४औं महाधिवेशन हुनेमा कुनै भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ, म देशभरिका पार्टीका सम्पूणर् साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु, २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूणर् प्रतिवद्ध छु ।’ देउवाले वक्तव्यमार्फत भनेका छन् ।

उनले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूणर् राजनीतिक अभियान भएकोसमेत भनेका छन् । 'पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर एक महत्वपूणर् राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैंले राम्ररी बुझेको छु ।’

उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक/पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएकोसमेत भनेका छन् ।

‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन, बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो, यसका लागि सबै जिम्मेवार हुनु पर्दछ, हामीसँग अब बढी समय छैन’ वक्तव्यमा भनिएको छ ।

महाधिवेशनका लागि आषाढ र श्रावण दुई महिना बाँकी रहेको भन्दै देउवाले यो दुई महिना भित्रैमा महाधिवेशनका लागि क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै पूर्व तयारी गर्नु पर्ने भन्दै सो कार्यका निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको भनेका छन् ।

पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने भन्दै देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्यहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आआफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु ।

कांग्रेसले बनाएको महाधिवेशन क्यालेण्डर अनुसार अबको हप्ता दिनपछिदेखि पार्टीका तल्ला तहका अधिवेशन शुरु भइसक्नु पर्छ । तर कांग्रेसको महाधिवेशन केन्द्रित सक्रियता र गतिविधि हेर्दा अब त्यो सम्भव छैन ।

कांग्रेसले बनाएको महाधिवेशन क्यालेण्डर अनुसार ५ असारमा वडा, ७ असारमा गाउँरनगर, १ साउनमा प्रदेश सभा क्षेत्रीय, ३ साउनमा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र ६ साउनमा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन निर्धारित छ ।

तर माथि तोकिएका निकायमा ती समयमा अधिवेशन गर्न अब कांग्रेसले महाधिवेशन लक्षित गतिविधिमा ठूलै फड्को मार्नुपर्छ । र नेतृत्व तहमा स्वार्थरहीत सहमति हुनुपर्छ । जुन हालसम्म न त पार्टी संस्थापनमा देखिएको छ । न त महाधिवेशन समयमा नै हुनु पर्छ भन्ने पार्टी भित्रका संस्थापन बाहेकका समूहमा ।

कांग्रेसले बनाएको कार्यतालिका अनुसार १० र ११ साउनमा प्रदेश अधिवेशन र ७, ८, ९ र १० भदौमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । तर महाधिवेशनका लागि चुरो समस्यका रुपमा सधैजसो देखिने गरेको क्रियाशिल सदस्यताको विषय हालसम्म पनि टुंगिएको छैन । कांग्रेसको महाधिवेशन समयमा हुन नसक्ने सबै भन्दा ठूलो र मूल कारण पनि यही हो ।

कांग्रेसले विधानको व्यवस्थाबमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि संवैधानिक व्यवस्थालाई टेकेर ६ महिना म्याद थपेको थियो । कांग्रेस विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्षको हुने उल्लेख छ । तर, असाधारणस्थिति भएमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने उल्लेख छ ।

कांग्रेसले विधानमा भएको व्यवस्थालाई मात्रै होइन हालसम्म आइपुग्दा संविधानमा भएको व्यवस्थालाईसमेत उपयोग गरिसकेको छ । जसअनुसार कांग्रेसले गत फागुनमा संविधानको सुविधा प्रयोग गरेर पार्टीको केन्द्रीय समितिको कार्यकाल बढाएको थियो ।

संविधानको धारा २६९ को उपधारा ४ (ख) मा ‘विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्ष भित्रमा पदाधिकारीको निर्वाचन हुन नसकेमा ६ महिना भित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न वाधा पर्ने छैन’ भनिएको छ ।