सुनसरीमा निषेधाज्ञा बिहीवारदेखि खुकुलो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

सुनसरीमा निषेधाज्ञा बिहीवारदेखि खुकुलो


धरान । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीले आज बुधवार निषेधाज्ञा सम्बन्धि आदेश जारी गर्दै विहीवारदेखि जिल्लामा लकडाउनलाई केही खुकुलो पारिएको जानकारी दिएको छ ।

यसअघि पूर्णतया बन्द गरिएका डिपार्टमेन्ट स्टोर, ग्रोसरीसहित खाद्यान्नका पसलहरु विहान १० बजे देखि ३ बजेसम्म खुला गरिएको छ । पसलमा भिडभाड हुन नदिन स्थानिय सरकार नगरपालिका उद्योग बाणिज्य संघको समन्वयमा होम डेलिभरी सेवा व्यवस्था मिलाउन सकिने आदेशमा उल्लेख छ ।

दुध-डेरी, माछा मासुको पसलहरु पनि स्वास्थ्य मापदण्ड पालना गरी विहान १० बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाउने सूचना गरिएको छ । फलफुल र तरकारी पसलहरु संकलन तथा ढुवानी निर्वाध खुला गरिएको छ । विक्री वितरण भने विहान १० बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म ठेला गाडा, डोकोमा घर घर पुर्‍याएर मात्र विक्री गर्न पाउने छ । सब्जी मण्डी, हाट बजारमा एकै ठाउँ धेरै पसल राखेर विक्री वितरण गर्न नपाउने आदेशमा उल्लेख छ ।

पुस्तक तथा स्टेशनरी पसल स्वास्थ्य मापदण्ड पालना गरी विहान १० देखि ३ बजेसम्म खुला गर्न पाउने भएको छ । आदेशमा शैक्षिक सत्र शुरु हुन लागेकाले स्कुलहरुका पुस्तक विक्री वितरण गर्न पसल खुला गरिएको उल्लेख छ । तर विद्यालय खुला गर्ने बारेमा स्थानीय सरकार, विद्यालयहरुले भने कुनै सार्वजनिक सूचना जारी गरेको पाइएको छैन् । लकडाउनका बेला सर्वसाधारणका लागि यसअघि लगाइएको प्रतिबन्धात्मक व्यवस्था भने यसपाली पनि यथावत राखिएको छ ।

यसअघि सुनसरीमा जेठ ३१ गतेसम्म बढाएको निषेधाज्ञाको आदेशमा केही लचकता अपनाइएपनि प्रतिबन्धात्मक कुराहरुमा कुनै छुट भने दिएको थिएन् । सरकारी कार्यालयका कर्मचारी र उद्योगको क्षेत्रमा काम गर्ने कामदारलाई विहान काममा जान र वेलुकी घर फर्कन दुई टाइम आवत जावत गर्न छुट दिइएको थियो ।

अत्यावश्यक सेवाका वाहेक अन्य सरकारी कार्यालयमा आवश्यक पर्ने कर्मचारीहरु विहान ९ बजेदेखि १० बजेसम्म र दिउँसो ५ बजेदेखि ६ बजेसम्म कार्यालयमा उपस्थित हुने प्रयोजनका लागि परिचय पत्रको आधारमा आवत जावत गर्न पाउने गरिएको थियो ।

उद्योग, कलकारखानामा काम गर्ने कर्मचारी तथा कामदारलाई प्रतिष्ठानले उपलव्ध गराएको परिचयपत्रको आधारमा विहान ५ बजेदेखि ७ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावात गर्न छुट दिइएको थियो । हाटबजार बन्द गरिएकाले धरानका गल्लीहरुमा खुलेका पसल । तस्विरः हर्ष सुब्बा