काठमाडौंको निषेधाज्ञा केही खुकुलो, एक साता थपियो - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

काठमाडौंको निषेधाज्ञा केही खुकुलो, एक साता थपियो


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै थियो। 

बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दिइएको छ । त्यस्तै विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।

ग्यारेजहरु बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने निर्णय भएको छ। एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले निर्वाद रुपमा संचालन गर्न पाउने छन् ।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ भने अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने निर्णय भएको पराजुलीले जानकारी दिए ।

अध्ययनका लागि विदेश जाने लगायतका विषयका कारण हिँडडुल गर्नुपर्ने मानिसका लागि पनि व्यवस्था केही खुकुलो पारिएको छ । यसैगरी बचत तथा ऋण सहकारी संस्था पनि खुलाउन पाइने भएको छ । सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ ।