‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने


काठमाडौं । सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यतिबेला नेपाली रिमेकको लागि चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ ।

निर्माण तथा बितरणको लागी अुनमति लिएको युवा फिल्म्सले अहिले चलचित्रको लागि कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । करिब एकवर्ष अघि नै निर्माण घोषणा भएतापनि कोरोनाका कारण चलचित्र केही समय पछि सरेको थियो ।

चलचित्रको लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो ।

यो चलचित्रमा केही नायकहरुको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागि इमेल गर्न आग्रह गरेका छन् ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता साहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन् ।