विपक्षी गठबन्धनलाई थप सशक्त बनाइनेछ : कांग्रेस - रुपान्तरण
 २०८१ माघ २४, बिहीबार    

विपक्षी गठबन्धनलाई थप सशक्त बनाइनेछ : कांग्रेस


काठमाडौं । नेपाली काँग्रेसले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । बिहीवार र शुक्रवार गरी दुई दिन बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको हो ।

हाल सरकारको काम कारबाहीका विषयमा खबरदारी गर्न र विपक्षी गठबन्धनमा सरकार बनाउन भन्दै नेपाली काँग्रेससहित माओवादी केन्द्र, उपेन्द्र यादव समूहको जसपा, माधव नेपाल समूहको एमाले र राष्ट्रिय जनमोर्चा एकताबद्ध छन् ।

काँग्रेस सह महामन्त्री डा.प्रकाशसरण महतले बैठकले विपक्षी गठबन्धनलाई थप सशक्त बनाउने निर्णय गरेको जानकारी दिए । बैठकले पार्टीको १४औँ महाधिवेशनलाई समेत तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय समेत गरेको उनले जानकारी दिएका छन् ।

बैठकले राजनीतिक प्रस्ताव पारित गर्दै संविधान र लोकतन्त्रविरुद्ध वर्तमान सरकार र प्रधानमन्त्री ओली उभिएकाले त्यसको प्रतिवाद गर्नु राजनीतिक आवश्यकता भएको ठहर गरेको हो । बैठकले प्रधानमन्त्री ओलीले लोकतन्त्र, संविधानको मूल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम गरेकोसमेत निष्कर्ष निकालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ (५) अनुसार सरकार गठन गर्नका लागि आह्वान भएपछि विपक्षी गठबन्धन बनेको थियो । गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि अघि सारेको थियो ।