काठमाडौं । अन्य कारण होला नहोला तर कांग्रेस महाधिवेशन गर्न स्वास्थ्य मापदण्ड र कोरोना महामारी बाधक बन्नसक्ने संभावना जिवित छ । तर आसन्न १४ औं महाधिवेशनमा सभापतीका लागि दाबेदारहरुको संख्या बढ्दो छ ।
शुक्रबार सम्पन्न केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पारित गरेसँगै कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप सुरु भएको हो । नेतृत्वको दाबी गर्नेमा हालका सभापति शेरबहादुर देउवा एक नम्बरमा छन् ।
शनिबार प्रदेश १ र २ का संस्थापन पक्षीय नेताहरुसंग छलफल गरेका सभापति देउवाले आइतबार बाग्मती र गण्डकी प्रदेशका नेताहरुसंग छलफल गरे । दुवै छलफलमा उनले आफू सभापतिको स्वभाविक दाबेदार भएको बताएका थिए । संवैधानिक बाध्यताका कारण भदौमा महाधिवेशन गर्नैपर्ने भएपछि कांग्रेसमा नेतृत्वका आकांक्षीहरुले आन्तरिक दौडधुपलाई तिव्रता दिएका हुन् ।
भदौ १६ गतेदेखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिबाट पारित भएलगत्तै नेतृत्वमा दोहोरिने दौड सुरु गरेका सभापति देउवाले संस्थापन पक्षीय केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुसंग प्रदेशगत छलफल सुरु गरेका हुन् ।
सभापति देउवासहित अन्य आकांक्षीले नेतृत्वको लागि गृहकार्य सुरु गर्नु महाधिवेशन हुने संकेतको रुपमा बुझ्नुपर्ने बताउन थालिएको छ । देउवा आफैं अग्रसर भएपछि महासधिवेशन हुनसक्ने संभावना बढेर गएको छ ।
आसन्न महाधिवेशनमा आफु पुनःसभापतिको उम्मेद्वार हुने भन्दै सहयोग गर्न आग्रह गरेका देउवाले संस्थापन पक्षीय नेताहरुलाई आफ्नो जित निश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि जिताउन निर्देशन समेत दिएका छन् ।
पार्टीलाई कमजोर बनाएको र संसदमा विपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना खेपिरहेका देउवाको पुनःनेतृत्वमा दोहोरिने आकांक्षाप्रति उनी पक्षकै कतिपय नेताले विमति देखाएका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका अन्य आकांक्षीहरु पनि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आधा दर्जन आकांक्षीले नेतृत्वको लागि तयारी गरिरहेका छन् । हालका महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, नेता डा.शेखर कोइराला, नेतृ सुजता कोइराला, नेता डा रामसरण महत लगायतले पनि नेतृत्वमा दाबी गर्ने बताउँदै आइरहेका छन् ।
पर्ख र हेरको नीतिमा रहेका कांग्रेस भित्रको तेस्रो धार मानिएको नेता कृष्णप्रसाद सिटौलाको समूह आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेमा पर्ख र हेरको रणनीतिमा छ । उसले आफ्नो प्रष्ट धारणा बनाइसकेको छैन तर सिटौला देउवालाई प्रधानमन्त्रीमा सहयोग गरेर आफू कार्यवाहक सभापति चलाउने इच्छामा छन् ।
संस्थापन इतर पक्षबाट देउवाको प्रतिस्पर्धी को हुन्छ भन्ने निश्चित नभईसकेपनि यसपटक सभापति देउवालाई आफ्नै पक्षका निधिवाट चुनौती देखिएको छ । तर देउवालाई पुनः नेतृत्वमा पुग्न सहज नभएको अनुमान गरिन थालेको छ ।
२०७२ साल फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवा कांग्रेसको नेतृत्वमा पुगेका थिए । नेतृत्वको लागि आकांक्षीहरुले तिव्र तयारी सुरु गरेपनि कोरोना महामारी,बाढीपहिरो र राष्ट्रिय राजनीतिमा देखापरेको संकट भदौमा महाधिवेशन गराउन कांग्रेसलाई निकै चुनौतीपूर्ण देखिन्छ ।