काठमाडौं । नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।
देशका विभिन्न ठाउँहरुबाट संकलित ४८ वटा नमुनाहरु भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गर्न पठाइएको थियो । ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको छ।
मन्त्रालयका अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहकाहरुलाई नै असर गर्ने जनाइएको छ । उक्त भेरियन्टबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनका लागि मन्त्रालयले आग्रह गरेको छ ।
जापान, भारतलगायतका देशमा यसअघि नै फेला परिसकेको कोरोना अर्को भेरिअन्ट नेपालमा पनि फेला परेको हो । हाल नेपालमा कोरोना भाइरसको डेल्टा भेरिअन्ट सबैभन्दा बढी सक्रिय रुपमा रहेको छ । यसै भेरिअन्टको स्वरुप परिवर्तन गरेको नयाँ भेरिअन्ट के ४१७ एन फेला परेको हो । यो भेरिअन्ट अहिले विश्वका १० भन्दा बढी देशमा फेला परेको छ ।