१६ डिआईजी र १५ जना एसएसपी सरुवा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

१६ डिआईजी र १५ जना एसएसपी सरुवा


काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानीरिक्षकहरु (डिआईजी) को सरुवा भएको छ । १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पनि सरुवा भएका छन् ।

गृहमन्त्री खगराज अधिकारीले सोमबार सातै प्रदेशको नेतृत्वमा रहेका, सिआइबीमा रहेका र अन्यत्र रहेकासमेत गरी १६ डीआइजीको सरुवा गरेका हुन् । सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा धिरजप्रताप सिंहको सरुवा भएको छ । उनी प्रदेश–२ प्रहरी कार्यालयमा प्रमुख थिए ।

यसैगरी प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा डीआईजी अरुणकुमार बिसीलाई पठाइएको छ । यसैगरी प्रदेश २ मा उमेश रञ्जितकारको सरुवा भएको छ । यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा प्रकाशजंग कार्की पुगेका छन् ।

गण्डकीमा दिवेश लोहनी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा मुकुन्द आचार्य, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रहरी कार्यालय दिपायलमा पुरुषोत्तम कँडेललाई पठाइएको छ । प्रदेश १ मा रहेका डीआइजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय नक्साल ल्याइएको छ ।

यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा रहेका डीआइजी वसन्त लामा प्रहरी महानीरिक्षकको सचिवालमा आएका छन् । यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयमा प्रमुख रहेका घनश्याम अर्यालको विशेष ब्यूरोमा सरुवा भएको छ ।

यसैगरी लुम्बिनीमा रहेका रबिन्द्र धानुकको प्रधान कार्यालयमा रहेको कार्य एवम् अपराध अनुसन्धान विभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै कणरलीमा रहेका वसन्त पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ल्याइएको छ ।

यस्तै सुदुरपश्चिम प्रहरी कार्यालयमा रहेका डीआइजी उत्तमराज सुवेदीको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सिआइबीका सहकुल थापालाई प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय निर्देशनालय लगिएको छ ।

प्रहरी महानीरिक्षकको सचिवालयमा रहेका प्रकाश अधिकारीको मानव स्रोत एवम् प्रसासन विभाग आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा सरुवा गरिएको छ ।त्यस्तै नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा भएको छ । प्रधान कार्यालयले सोमबार एसएसपीहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयद्धारा प्रकाशित सरुवा सूची अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा रहेका एसएसपी उमेशराज जोशीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा भएको छ । यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट एसएसपी मीरा चौधरीलाई प्रदेश १ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

यस्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर रहेका श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ ।

एसएसपी कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना तथा विकास निर्देशनालय र टेकबहादुर तामाङलाई १ नम्बर प्रदेश कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

यस्तै नलप्रसाद उपाध्यायलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल, राजेन्द्रप्रसाद चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पुर्याइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका एसएसपी दिपक थापालाई प्रदेश(२ प्रहरी कार्यालय जनकपुर शान्ति सुरक्षा महाशाखामा सरुवा गरिएको छ । चन्द्रकुवेर खापुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विक्रमबहादुर चन्दलाई डोटी र नरबहादुर खत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा गरिएको छ ।