रुकुममा मिडियामैत्री बजेट बनाउन महासंघको अनुरोध - रुपान्तरण
 २०७८ मंसिर १४, मंगलबार    

रुकुममा मिडियामैत्री बजेट बनाउन महासंघको अनुरोध


रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुमले रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय तहहरुलाई मिडियामैत्री बजेट बनाउन अनुरोध गरेको छ ।

रुकुम पश्चिमका ६ ओटा र रुकुम पूर्वका ३ ओटा स्थानीय तहले आगामी आ.व.०७८/०७९ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन तयारी गरिरहेको बेला पत्रकार महासंघ रुकुमले संचारको क्षेत्रमा समेत बजेट बिनियोजन गर्न अनुरोध गरेको हो । महासंघ अध्यक्ष लक्ष्मण केसीका अनुसार सबै पालिकाहरुलाई बिषयगत रुपमा संचार क्षेत्रको विकासका लागि बजेट बिनियोजन गर्न अनुरोध गरेर पत्राचार गरिएको छ ।

जिल्लाका पत्रकारको पेशागत सुरक्षा र सञ्चार माध्यामको नियमित प्रकाशन/प्रशारणका लागि पत्रकार महासंघ रुकुमले जिल्लाका स्थानीय तहहरुसँग सहयोग र सहकार्य गर्ने क्रममा आगामी अबर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण तयारी रहेका स्थानीय तहहरुलाई जिल्लाको संचारकर्मीहरुको व्यवसायीक हित र संचार माध्यामको दिगोपनाका बजेट विनियोजनको व्यवस्था मिलाइ दिन अनुरोध गरिएको अध्यक्ष केसीले बताए ।

महासंघले पत्रकारिता पुरस्कार, पत्रकार कल्याण कोष स्थापना तथा सञ्चालन, नेपाल पत्रकार महासंघ रुकुम शाखाको कार्यालय व्यवस्थापन, जिल्लाका पत्रकारहरुको समग्र क्षमता विकासको क्षेत्रमा बजेट छुट्याईदिन अनुरोध गरेको छ । त्यसैगरी पत्रकारहरुको क्षमता बिकासका लागि बिषयगत तालिम (सूचना तथा प्रविधी, अनलाइन, शिक्षा, स्वास्थ्य, खेलकूद, सहकारी कृषि तथा पशु, द्वन्द्व र शान्ति, विकास), पत्रकारहरुलाई लेखनवृत्ती, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, अनलाईन) लाई लोककल्याणकारी विज्ञापन, स्थानीय सरकार र पत्रकारहरु बिच नियमति तथा समसामयीक अन्तरक्रिया, संवाद, छलफल र पत्रकारहरुले खरिद गर्ने संचार सामाग्रीहरु (कम्प्युटर, क्यामेरा, रेकर्डर लगायत) मा अनुदान व्यबस्थाको लागि बजेट बिनियोजन गरिदिन महासंघले अनुरोध गरेको छ ।