मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एक मन्त्रीलाई पाँच मन्त्रालयको जिम्मा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एक मन्त्रीलाई पाँच मन्त्रालयको जिम्मा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफ्नै मातहतमा राख्दै विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिँदा बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि २० मन्त्रीको पद गुमेपछि हाल कायम रहेका प्रधानमन्त्रीसहित चार मन्त्रीलाई जिम्मेवारी थपिएको छ । जसअनुसार एकै मन्त्रीले ५ वटासम्म मन्त्रालयको जिम्मेवारी पाएका छन्।

ओली नेतृत्वमा मिति २०७८।१।३१ गते गठित मन्त्रिपरिषद्‌मा मिति २०७८।२।२१ र मिति २०७८।२।१७ मा भएको नियुक्ति, हेरफेर र कार्य विभाजन हुँदा समावेश भएका दुई जना उपप्रधानमन्त्री, पन्ध्र जना मन्त्री तथा तीन जना राज्यमन्त्रीको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएसँगै उनीहरूले सम्हाल्दै आएको मन्त्रालय मौजुदा मन्त्रीहरूलाई थप गरेका हुन्।