मुलुकमा नविन संघर्ष आवश्यक भयो - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

मुलुकमा नविन संघर्ष आवश्यक भयो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारिताले संविधान संकटमा परेको आरोप लगाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक र लोकतन्त्र दुवै संकटमा परेको पनि बताए ।

काठमाडौंमा विपक्षी गठबन्धनमा रहेका नेताहरुले केही सम्पादकहरुसँग गरेको छलफलमा देउवाले भने ‘उहाँले असंवैधानिकरुपमा दुई–दुई पटक प्रतिनिधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन् ।’

प्रधानमन्त्रीले राष्ट्रिय हितमा आँच पुग्ने काम गरेको भन्दै देउवाले ‘लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ । यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ । यो संघर्ष र अभिभारा साझा अपनत्व र कर्तब्यको विषय हो,’ भने ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको भन्दै उनले प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार प्रधानमन्त्रीका लागि दावी पेश गर्दा आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकृत गरेको आरोप उनले लगाएका छन् ।