बिमलेन्द्र-शशांक-प्रकाशमान भेट: एक ठाउँमा उभिने प्रयास - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

बिमलेन्द्र-शशांक-प्रकाशमान भेट: एक ठाउँमा उभिने प्रयास


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रीत छलफललाई नेताहरुले तिब्रता दिएका छन् । केहीदिन अघि संयुक्त लन्च मिटिङ गरेका सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, डा.शशांक कोइराला र प्रकाशमान सिंहबीच शुक्रबार पुनः भेटघाट गरेका छन् ।

महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा भएको छलफलले कांग्रेसीजनमा तरङ सिर्जना गरेको छ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना भएको हो । नेतात्रयले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा चर्चा भइरहेको छ ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचन लगायतका विषयमा नेता त्रयबिचमा छलफल भएको जानकारी दिए । उनका अनुसार महाधिवेशनमा प्रतिस्पर्धा भए पनि कसरी एकताको महाधिवेशन बनाउने र नेताहरूबिच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।

तीनै नेता पार्टीका कुनैबेला नेतृत्व गरिसकेका तीन पिताका पुत्र हुन् । बीपी, गणेशमान र महेन्द्र नारायणका तीन छोरा आफै पनि नेतृत्वको आकांक्षी हुन। तर १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा छन् ।

भेटमा पार्टीको भदौंमा हुने १४औं महाधिवेशन र राष्ट्रिय राजनीतिकाबारे छलफल भएको भन्दै कोइरालाले आगामी दिनमा पनि संवादमा रहने प्रतिक्रिया दिएका छन् । पार्टीलाई गुट÷उपगुटमा विभाजित गर्दा धराशायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानुपर्नेमा आफूहरु सहमत भएको उनीहरुको भनाइ छ ।

संवादका पहलकर्ता उपसभापति निधिले पनि आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्ता उत्साहित भएकाले एउटै आवाज हुने टिप्पणी गरेका छन् । अलग–अलग गुटका नेता एकै ठाउँमा बसेर गुट बनाएको नभई तोडेको उनको भनाइ छ ।

सभापतिका अर्का आकांक्षी सिंहले समय आएपछि सभापतिमा को उठ्नेबारे औपचारिक घोषणा गरिने प्रतिक्रिया दिएका छन् तर छलफल सकारात्मक दिशामा उन्मुख भएको उनको भनाइ छ ।

शेरबहादुर देउवाको हातबाट नेतृत्व तल्लो तहमा ल्याउन तीनै नेता तयार देखिए पनि सभापतिका आकांक्षी उनीहरुले कसले कसलाई नेतृत्व छाड्न तयार होलान् त्यो भने अहिले नै प्रष्ट देखिन्न ।

यद्यपि, नेतृत्व हस्तान्तरणको मुद्दा बनाएर बहस चलाइरहेका युवा पुस्ता पनि यो पहलकदमीबाट उत्साहित भने देखिएको छ । सोमबार नै निधिले गरेको छलफलमा युवा नेताहरुले तल्लो तहमा नेतृत्व ल्याउन आफूहरुले सघाउने बताएका थिए ।

आफ्नो उम्मेदवारीका लागि शुरुमा सभापति देउवासँग समर्थन माग्नुभएका निधिलाई १४ औं महाधिवेशनमा पनि आफै उम्मेदवार रहने भन्दै सघाउन भनेपछि निधि देउवाको शिविरबाट अलग्गिँदै अरु दुई नेतासँग छलफलमा बसेका हुन् ।

निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दाबी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दाबी गर्दै आइरहेका छन् ।

यसअघि निधिले नेतृत्व परिवर्तनका पक्षमा रहेका काँग्रेसका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरूले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डामा साथ दिने भन्दै आकाङ्क्षीहरूबिच संवाद गर्न निधिलाई सुझाएका थिए ।