माधव र प्रचण्ड भन्छन् : यो लडाइँ ओली प्रवृत्तिविरुद्ध हो - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

माधव र प्रचण्ड भन्छन् : यो लडाइँ ओली प्रवृत्तिविरुद्ध हो


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरुको लडाइ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको स्पष्ट पारेका छन् । विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ओलीले पटक–पटकको धोका दिएका कारण आफूहरु विद्रोहमा उत्रिनुपरेको बताए ।

ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउन आफूहरुको मैदानमा उत्रिएको बताए । उनले ओलीले सत्ताबाहेक अरु नदेखेको आरोपसमेत लगाए।

सो क्रममा नेता नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धोका नदिने स्पष्ट पारे । ‘माधव नेपालले धोका दिँदैन, धोका दिने मान्छे होइन, सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिएर धोका दिने काम हुँदैन’ उनले भने ।

ओलीसँग नमिल्ने र विपक्षी गठबन्धन नछोड्ने घोषणा गरेका नेपालले ओलीबाट प्रधानमन्त्रीको अफर आएको दाबी पनि गरे । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको तर आफूले स्वीकार नगर्ने उनको दाबी छ ।
‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन, ओलीले राइटिस्ट कोलिसन बनाउनुभएको छ त्यसलाई करेक्सन गर्नुपर्छ, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला’ नेपालको भनाइ थियो । आफूले कुनै पदका लागि लडाइँ लडेको नभइ ओलीको गलत प्रवृत्ति र गलत चिन्तनविरुद्ध उत्रिएको बताए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताएका छन् ।

राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने उनको भनाइ छ । विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

सर्वोच्चले संविधानअनुसार, लोकतान्त्रिक मूल्यमान्यताअनुसार फैसला गर्ने बताउँदै प्रचण्डले भने, ‘अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर शेरबहादुर देउवा जीलाई प्रधानमन्त्री तोक्नुपर्छ,अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प छैन ।’ अराजक शैलीमा केपी ओली संविधानको विरुद्धमा उत्रिएको आरोप लगाउँदै प्रचण्डले संविधान अनुसार ओलीपछि देउवा प्रधानमन्त्री बन्ने बताए ।