विमलेन्द्र-प्रकाशमान-शशांकबीच भेटघाट बाक्लियोः नयाँ समीकरणको संकेत - रुपान्तरण
 २०८१ बैशाख १६, आईतबार    

विमलेन्द्र-प्रकाशमान-शशांकबीच भेटघाट बाक्लियोः नयाँ समीकरणको संकेत


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको नियमित भेटघाटले कांग्रेसभित्र नयाँ तरङ्ग थपिदिएको छ । मंगलबार सिंह निवास चाक्सीबारीमा तीन नेताबीच भएको भेटले कांग्रेसभित्र नयाँ समीकरणको विकास हुने देखिएको छ ।

तीन नेताबीच निरन्तर महाधिवेशन लक्षित समीकरणका विषयमा भइरहेको छलफलले पार्टी भित्र कायम रहँदै आएका गुटलाई अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा सल्लाह हुँदै आइरहेको छ ।

उनीहरूले सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यस पटक नेतृत्व चयन गर्ने विषयमा छलफल गरिरहेका छन् । सो रणनीति अनुसार सबै आकांक्षीहरुबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्विकार्ने विषयमा उनीहरू बीच छलफल भइरहेको छ ।

नेतात्रयले अब महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय गरेका छन् । आउने शुक्रबार महामन्त्री कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय पनि गरिएको छ ।

बैठकपछि नेता सिंहले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कसको नेतृत्वमा मैदानमा जाने भन्नेबारे तीन नेताबीच छलफल भएको जानकारी दिँदै आफूहरुबीचको छलफलले कार्यकर्तामा उत्साह जागाएको दाबी पनि गरे ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुन् । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् भने सिंह र कोइराला संसथापन इतरमा हुन् ।

संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै छन् ।

त्यसैका लागि तीन नेताबीच छलफलको शुरुवात पनि उनले नै गरेका थिए । पहिलो चरणमा निधिको निवासमा छलफल गरेका उनीहरु दोस्रो पटक कोइराला निवासमा बसेका थिए । कांग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा आफूनुकूलका समीकरण बनाउने र पदीय भागबण्डा गर्ने प्रयास भइरहेका छन् ।

संस्थापन पक्षमा देउवाका अतिरिक्त निधिले पनि नेतृत्वका लागि इच्छा देखाउँदा इतर पक्षमा भने कोइराला र सिंहका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल र डा.शेखर कोइराला पनि सभापतिको दावेदार हुन् ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका कृष्ण सिटौला र नेताहरु अर्जुनरसिंह केसी र डा.रामशरण महतको भूमिका यस महाधिवेशनमा के हुन्छ भन्नेचाहिं खुलिसकेको छैन । तीनै जनाले विभिन्न मौकामा आफूलाई सभापतिको आकांक्षी बताउने गरेका छन् ।