नेपालमा सामाजिक न्यायको मुद्दा कमजोर - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

नेपालमा सामाजिक न्यायको मुद्दा कमजोर


काठमाडौं । सामाजिक न्यायको बिषय अब नेपालमा सामुहिक रुपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो कुरा उठाएका हुन् । मानव अधिकार तथा अन्य विभिन्न अधिकारको क्षेत्रमा क्रियाशील १८ वटा सामाजिक संघसंस्थाले आयोजना गरेको नेपालमा सामाजिक न्याय सम्बन्धी अन्तरसंवाद कार्यक्रममा उक्त बिषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।

नेपालमा सामाजिक न्यायको बिषयमा विगतदेखि वकालत गर्दै आएका विश्वभक्त दुलाल (आहुति) ले उक्त कार्यक्रम एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमा डाक्टर उद्वव कार्की र अधिवक्ता शान्तिदेवी खनाल टिप्पणीकर्ताको रुपमा रहेका थिए । कार्यपत्र प्रस्तुतकर्ता आहुतिले नेपाली समाजमा अन्यायका मुद्दाहरु र तिनको स्रोत, जात व्यवस्था ,पितृसत्तावाद,जातीय उत्पीडन, धार्मिक उत्पीडन, क्षेत्रीय उत्पीडन,वर्गीय उत्पीडन,सामाजिक न्यायको निम्ति प्रयत्न र आजको स्थिति आदि बिषषहरु समेटेका थिए ।

टिप्पणीकर्ता र सहभागीहरु नेपालको संविधानमा सामाजिक न्याय सम्बन्धी गरिएका व्यवस्थाहरु प्रयाप्त नभएको र भएका व्यवस्थाहरुको ब्यवहारीक रुपमा कार्यान्वयन नभएको कुरा उठाए ।

अब नेपालमा एक्लाएक्लै भन्दा पनि सामाजिक न्यायको बिषय सामुहिक रुपमा उठाउनुपर्ने उनीहरूको धारणा थियो । यी मुद्दाहरु संयुक्त रुपमा उठाए मात्रै राज्यले सुन्छ कि भन्ने आशा हो अपांगता समुदायकी अधिकारकर्मी मिना पौडेले भनिन् ।

यस्तै कार्यक्रममा प्रतिनिधिमुलक ढंगले निलहिरा समाज बाट मनोरञ्जन वैद्य, मुस्लिम समुदायबाट डाक्टर समिम अहमद ,बौद्व धर्मावलम्बीबाट बसन्त महर्जन र इसाई समुदायबाट समीर अधिकारीले पनि सामाजिक न्यायको नेपालको अवस्थाबारे कुरा राखेका थिए ।

कार्यक्रमको सहजीकरण सोच नेपालका महासचिव अर्जुन परियारले गरेका थिए भने कार्यक्रम संचालन फ्रिडम फर अल नेपाल (फान )नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए । उक्त कार्यक्रमको निष्कर्षलाई आयोजकले प्रधानमन्त्री तथा विभिन्न सरोकारवाला निकाय समक्ष बुझाउने तयारी गरेको छ ।

यस अगाडि आयोजक संस्थाहरुले गएको फागुन ८ गते अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर मनाएका थिए ।