ओली-नेपाल टकरावः ओलीले बोलाएको बैठक बहिष्कार - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

ओली-नेपाल टकरावः ओलीले बोलाएको बैठक बहिष्कार


काठमाडौं । नेकपा एमालेको ओली पक्षले शुक्रवार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले समूह सहभागी नहुने निर्णय गरेको छ। उनीहरुले ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको पनि बताएका छन् ।

एमाले केन्द्रीय कमिटीको शुक्रवारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरूलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको भनिए पनि माओवादीबाट एमालेका आएका नेताहरूसँगै आफूहरूलाई पनि बैठकमा बोलाएका कारण सहभागी नहुने निर्णय गरेका हुन्। नेपाल समूहले प्रक्रियागत त्रुटि रहेका कारण सो त्रुटि सच्याउन आग्रह गरेका छन्। बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

बिहीबार बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले यथास्थितिमा अध्यक्ष केपी ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।

जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरूको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो। माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।

अध्यक्ष ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएकोप्रति नेपाल पक्षको आपत्ति रहेको छ ।