नेपाल-खनाल समूहको अडान ओलीका लागि टाउको दुखाइ - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

 नेपाल-खनाल समूहको अडान ओलीका लागि टाउको दुखाइ


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबारका लागि बोलाइएको नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठकमा अधिकांश समय माधव नेपाल र झलनाथ खनालको अनुपस्थितिले चर्चा पायो ।

नेपाल–खनाल उपस्थित नभएपनि उनीहरुका दूत बनेर गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरुको एउटै सर्त थियो बैठक स्थगित गरौं भन्ने तर ओलीले टेरपुच्छर लाएनन् । एकपक्षीय रुपमा बोलाइएको बैठकले एकतामा समस्या उत्पन्न गराउँछ भनेपनि बैठक बसेरै छाड्यो । बैठकभर नेपाल र खनाल समूहप्रति सबैको ध्यान केन्द्रित थियो ।

कार्यदलको औपचारिक वार्ता गरेर एकाध दिनमा निर्णयमा पुग्ने र माधव नेपालसहित सहमति गरेर पार्टी एकढिक्का बनाउँ भन्ने प्रस्ताव नेपाल पक्षका नेताहरुले राखेका थिए तर ओलीले त्यो सुनेनन् । बैठकका क्रममा ओलीले पार्टीलाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको बताउँदै नेपाल पक्षसँग आक्रमक रुपमा प्रस्तुत भए । बैठकमा बोल्दै ओलीले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको साख जनताको बिचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन् । आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरु पनि भइरहेका छन् ’उनले भने । अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने, संगठित तवरले आन्दोलन घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने, राजनीतिक मुद्दालाई अदालततिर पठाइएको र जनतामा जान नदिने प्रयासहरू भइरहेको टिप्पणी गर्न ओलीले भ्याए ।

त्यतिमात्र होइन नेपाल समूहका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको समयसीमा समेत दिइयो। बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै राष्ट्रपति र सर्वोच्च अदालतमा हस्ताक्षर दिएका सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बहुदलीय प्रणालीमा दलको निर्णयविपरित दलका सदस्यले गरेका हस्ताक्षरको मान्यता नहुने उनको भनाइ छ ।

ओली र नेपालबीच बिहीबार साँझ नै भएको टेलिफोन संवादमा ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका थिए । तर नेपालको सिधा जवाफ थियो–अवैधानिक बैठकमा आउन सक्दिन भन्ने नै थियो । तर ओलीले नेपालको कुरा सुन्ने चाहेनन् । बैठक स्थगित गर्न र आपसी सहमतिमा अर्को बैठक तय हुनुपर्ने बताएका थिए । तर यी सबै प्रयासहरु असफल भए ।