माधव नेपाल पक्षधर सांसदहरुले हस्ताक्षर फिर्ता नलिने - रुपान्तरण
 २०८१ बैशाख १७, सोमबार    

माधव नेपाल पक्षधर सांसदहरुले हस्ताक्षर फिर्ता नलिने


काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आफ्नो अडान कायम राखेका छन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । तर, नेपाल पक्षधर सांसदहरुले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् ।

हस्ताक्षर फिर्ता लिने वा नलिने भन्ने विषयमा निर्णय गर्नको लागि आज विहान नेपाल पक्षधर सांसदहरुको जुममार्फत बैठक बसेको थियो । आजको बैठकले देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने निर्णय गरेको छ ।

सांसद रामकुमारी झाँक्रीले बैठकले देउवालाई दिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने निर्णय गरेको बताइन । तर, एमालेका दोस्रो तहका नेताहरु भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आजै निर्णायक वार्ता गराउनको लागि सक्रिय भएका छन् ।

यता एमालेको केन्द्रीय कमिटी बैठक शनिबार पनि जारी छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दोस्रो दिन शनिबार जारी बैठकमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गरेका छन् । नेपाल पक्षसँग एकताको अन्तिम प्रयास भइरहेका बेला केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको विषयमा समेत छलफल गरिरहेको छ ।