प्रतिनिधि सभा विघटनविरुद्व मुद्दाः असार २८ पछि फैसला आउनसक्ने - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

प्रतिनिधि सभा विघटनविरुद्व मुद्दाः असार २८ पछि फैसला आउनसक्ने


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो ।

सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र एमिकस क्यूरीले आ–आफ्ना धारणा इजलाश समक्ष राखेका थिए ।

सुनुवाई सकिएपछि इजलाशका तर्फबाट प्रधानन्यायाधीश राणाले मुद्दाको अर्को पेशी यही असार २८ गते सोमबारका लागि तोकेका हुन् । मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।

सुनुवाई सकिएपछि आजै (सोमबार)फैसला आउनसक्ने आंकलन गरिएको भए पनि राणाले २८ गतेलाई निर्णय सुनाउने/नसुनाउने केही नभनी पेशीको मिति तोकेका हुन् ।

सोमबार सर्वोच्च अदालतले सहयोगीका रुपमा झिकाएका एमिकस क्युरीका तीन सदस्यले विघटन गैरसंवैधानिक रहेको राय दिएका थिए । एमिकस क्युरीका चार मध्ये तीन सदस्यले विघटन गैरसंवैधानिक रहेको राय संवैधानिक इजलासलाई दिएका हुन् ।

प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलाशले असार ९ गतेदेखि मुद्दाको सुनुवाई थालेर असार २१ गते सकाएको हो ।

जेठ ८ गते प्रधानमन्त्री ओलीले गराएको संसद विघटनविरुद्ध कांग्रेस सांसद देउवासहित १४६ जना प्रतिनिधि सभाका सांसदले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए । देउवासहितका सांसदले जेठ १० मा रिट हालेका थिए ।

"