एमाले कार्यदलको वार्ता सहमति नजिक पुगेको हो ? - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एमाले कार्यदलको वार्ता सहमति नजिक पुगेको हो ?


काठमाडौं । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक पुगेको भनिएपनि वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा भएको वार्तामा उठेको आधा दर्जन विषयमा छलफल भएर सहमतिनजिक पुगेको नेपाल पक्षीय नेता गोकर्ण विष्टले जानकारी दिएका छन् ।‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उनले भने, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’

विष्टले भोलि शनिबार सम्पूर्ण रूपले सहमति र निष्कर्षमा पुग्ने जानकारी दिँदै भाषागत विषयमा मात्र सहमति हुन बाँकी रहेको बताए । आफूहरू पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण हिसाबले सहमतिमा पुग्ने उनको भनाइ छ ।

यस्तै ओली पक्षीय नेता एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भाषागत त्रुटीहरू मिलाउन बाँकी रहेको बताए । उनले सहमति नजिक पुगेको जानकारी दिँदै भाषागत त्रुटीका विषयमा भोलि छलफल हुने जानकारी दिए ।

यद्यपी, नेता नेपालले अदालतलाई प्रभावित पार्न नहुने साथै असंवैधानिक कदमविरुद्ध सहमति गर्न नसकिने बताउँदै आएका छन् । नेपाल समूहसहित विपक्षी गठबन्धनका १४६ सांसदको हस्ताक्षरसहित प्रतिनिधि सभा पुर्नस्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै रिट निवेदन दर्ता गरेका छन् ।

उक्त रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस सकिएर फैसला आउने अन्तिम चरणमा छ । यहीबेला एमाले अध्यक्ष ओली पक्षले पार्टी एकताका लागि नेपाल पक्षले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान अघि सार्दै आएको छ । सुवास नेम्वाङले कार्यदलले गरेको सहमतिमा भोलि शनिबार हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । सबै विषयमा लगभग सहमति भएको र भोलि टुंगिने उनले बताए ।