पहाडमा पहिलो पटक विद्यापतिको सालिक - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

पहाडमा पहिलो पटक विद्यापतिको सालिक


इलाम । इलामस्थित सूर्योदय नगरपालिकाले मधेश–पहाडको एकता र संस्कृतिलाई संरक्षण गर्ने नवीन प्रयास गरेको छ ।मैथिली भाषाका महाकवि विद्यापतिको सालिक पहाडी जिल्लामा पहिलो पटक निर्माण गरेर मधेश–पहाडको सम्बन्ध र भावनाको प्रतिनिधित्व गर्ने काम नगरपालिकाले गरेको छ ।

सूर्योदय नगरपालिकाको पहलमा बनाइएको महाकवि विद्यापतिको सालिक लगभग अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिका–१२ स्थित कर्फोक माध्यमिक विद्यालय नजिकै विद्यापतिको सालिक बन्दैछ । वि.सं. २००९ सालमा राष्ट्रिय कवि सम्मेलन गरिएको स्थानमा विद्यापतिको प्रतिमा बनाउने काम भइरहेको हो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धनुषा पुगेर मैथिली भाषाका महाकवि विद्यापति देशकै महाकवि भएको भावनालाई विस्तार गर्न पहाडमा पनि उनको सालिक बनाइने योजना सुनाएका थिए । नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा कर्फोकमा जनकपुरमै नभएको विद्यापतिको पूर्णकदको सालिक निर्माण भइरहेको हो । कलाकार विक्रम श्रीले सालिकमा कला भरिरहेका छन् ।