माओवादी केन्द्र र प्रचण्डसँग टोपबहादुरको आक्रोश - रुपान्तरण
 २०८१ जेठ ४, शुक्रबार    

माओवादी केन्द्र र प्रचण्डसँग टोपबहादुरको आक्रोश


काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी गरे । उनले भने,‘एमाले र माओवादी तालमेल गर्दा नेकपाले झण्डै दुई तिहाई नजिक मत पायो । पार्टी एकता पनि गरियो । नेकपा बनायौं । नेताहरुको स्वार्थको कारणले बनावटी र व्यक्तिगत लफडा गरेर पार्टी विभाजनतिर गयो । हामी अन्तिसम्मपनि एकताको पक्षमा उभियौं । पार्टी फुटन नदिनको लागि अधितम प्रयास गर्यौं । तर, नेताहरुको व्यक्तिगत स्वार्थको कारणले नेकपा फुट्यो । हामी संस्थापन पक्षमै एक भएर उभियौं । हामीलाई अहिले गैरक्रान्तिकारी भनिएको छ । प्रचण्डले ओलीसँग एकता गर्दा क्रान्तिकारी हुने, अनि बादल र टोपबहादुरले ओलीलाई नेता मान्दा गैर क्रान्तिकारी हुन्छ ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माओवादी केन्द्रले एमालेसँग गएको चुनावमा तालमेल नगरेको भए अवस्था अत्यन्तै नाजुक हुन्थ्यो भन्ने पनि टिप्पणी गरे । उनले भने,‘माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभाको चुनावमा पहिलो भयो । दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो भयो । यो भन्दा अघिको निर्वाचनमा माओवादी केन्द्र एक्लै लडेको भए हालत के हुन्थ्यो ? एमालेसँग तालमेल गरेकै कारण माओवादीको अलि-अलि अस्तित्व रह्यो ।’

उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखे । उनले भने,‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन् । आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ । स्वघोषित नेता भएर प्रचण्डले इतिहास बनाएका छन् । कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो । माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ । यसलाई खारेज गर्नुपर्छ । माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि मानेको छैन् ।’

आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको पनि उनको आरोप छ । ‘पहिला आफू अनुशासनमा बस्नुपर्यो अनि अरुलाई अनुशासनको कारबाही गर्नुपर्छ’,उनले आक्रोश पोख्दै भने,‘माओवादीबाट जितेका जनप्रतिनिधिहरुलाई एकपछि अर्को ढंगले कारबाही चलाउँदै गईयो, यो गलत भयो । प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा, प्रदेश हुँदै स्थानीय तहसम्म जितेका जनप्रतिनिधिलाई कारबाहीको प्रक्रिया अघि बढाईयो । त्यसपछि हामीले प्रतिकार गर्यौं । मेयर/उपमेयरहरुलाई अदालतले अहिले पूनर्वहाली गरेको छ । यसले माओवादी केन्द्र पार्टी नै अनुशासनमा नबसेको र कानून, विधि, प्रक्रिया, संविधान मिचेको पुष्टि भयो ।’

उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए । २०६९ सालमा माओवादीले नाम मात्रैको महाधिवेशन गरेको स्मरण गर्दै उनले त्यसयता कहिल्यैपनि महाधिवेशन नगरेको जिकिर गरे ।

उनले भने,‘२०६९ सालमा भएको महाधिवेशनमा पनि आफ्ना हुनमानहरुको लिष्ट बनाउने अनि ताली पड्काउने काम भएको थियो । त्यतिवेला पनि हामीले असहमति जनाएकै थियौं । अहिले ९ वर्षसम्म पार्टीको महाधिवेशन गरिएको छैन् । यसरी पार्टी चलाउने छुट हुन्छ त ?’

उनले माओवादी केन्द्रमा वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन भैरहेको पनि खुलासा गरे । रायमाझीको प्रश्न छ,‘यो कसरी वैधानिक भयो त ?, महाधिवेशन नगर्ने अनि वर्षैपिच्छे केन्द्रीय कमिटी परिवर्तन गरिरहने ?’ उनले अब सबै कम्युनिष्ट र वामपन्थीहरु धु्रवीकृत हुन जरुरी रहेको आवश्यकत्ता औंल्याए ।

माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा आफूहरुले निवेदन दिएको र छिटो निर्णय गरिदिन ताकेदा पनि गरिरहेकोे रायमाझीको भनाई छ । उनले थपे,‘निर्वाचन आयोगबाट सबै डकुमेन्टहरु हामीले नियन्त्रणमा लिएका छौं । निर्वाचन आयोग संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्ने हो भने माओवादी केन्द्र खारेज हुन्छ ।

हामीले माओवादीमा रहँदापनि असहमतिहरु राखेका हौं । अहिले हामीले जुन कुरा उठाएका छौं, यो बदलाको भावनाले होईन । बरु, रुपान्तरणको लागि उठाएका हौं । सबै दलहरुमा रुपान्तरण हुनुपर्छ ।’ उनले वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भीजनरी, सफल र निर्णय गर्नसक्ने नेताको रुपमा चित्रण गरे । उनले भने,‘अहिले नेपालमा भएका शीर्ष नेताहरुमध्ये केपी ओली सबैभन्दा निर्णय गर्नसक्ने एकमात्र सफल र भीजनरी नेता हो ।’ 

"