फैसला इतिहासमै महत्वपूर्ण परिघटना, जनताको जित भयो - रुपान्तरण
 २०८१ बैशाख २१, शुक्रबार    

फैसला इतिहासमै महत्वपूर्ण परिघटना, जनताको जित भयो


काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।

सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिए । उनले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताए ।

उनले भने, “संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसिलालाई स्वागत गर्दछु । मेरो तर्फबाट, पार्टीको तर्फबाट र गठबन्धनको तर्फबाट पनि र सम्मानित सर्वोच्च अदालत, सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु । उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो । यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।

पटकपटकको संसद विघटन र पटकपटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो । त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छु । यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ । इतिहासले यसलाई सम्मान गरिराख्ने छ ।”

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै सोमबारको इजलाशले देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ ।