पाँचौ पटक प्रधानमन्त्री बने देउवा - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

पाँचौ पटक प्रधानमन्त्री बने देउवा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । तर राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधान र संविधानको धारा उल्लेख गरेकी छैनन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्। ओलीले मंगलबार दिउँसो देशबासीका नाममा सम्बोधन गरिसकेका छन् । त्यसक्रममा उनले अदालतप्रति असन्तुष्टी जनाएका छन् ।

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गर्न गएका देउवालाई नियुक्त नगरेपछि उनीसहित प्रतिनिधि सभाका १ सय ४६ सांसदले राष्ट्रपतिको उक्त कदमविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

सर्वोच्च अदालतले सोमबार उक्त मुद्दा फैसला गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश नै जारी गरेको थियो । परमादेश नै जारी गरेपछि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधान र संविधानको धारा नगरेको बताइएको छ ।

पत्रमा सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको मात्र भनिएको छ । कुन संविधानको कुन धाराअन्तर्गत देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो, सो ब्यहोरा उल्लेख गरिएको छैन ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव घिमिरेले जारी गरेको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

योसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् । देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ मा दोस्रो पटक, २०६१ मा तेस्रो पटक र संविधान जारी भएपछि २०७४ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।

संभवत नेपालको इतिहासमा पहिलो पटक अदालतको आदेशबाट देउवा प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो।