फरार अभियुक्तको सूचीमा रहेका गच्छदार धरौटीमा रिहा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

फरार अभियुक्तको सूचीमा रहेका गच्छदार धरौटीमा रिहा


काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा भएको बहसमा गच्छदारका अधिवक्ताहरूले साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका थिए ।

थुनछेक बहसमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ता दाहालका साथै महादेव यादव, कृष्ण सापकोटा, अधिवक्ता ललित बस्नेतलगायतले बहस गरेका थिए ।

यसअघि, अदालतले पटक–पटक बोलाउँदा पनि उपस्थित नभएपछि गच्छदारलाई फरार अभियुक्तको सूचीमा राखिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयागले ललिता निवास जग्गा प्रकरणमा गत २२ माघमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गच्छेदारविरुद्ध ९ करोड ६५ लाख विगो जरिवाना माग गरिएको छ ।

१ सय ७५ जनामध्ये १ सय ३३ जना अदालतमा उपस्थित भएका छन् भने बाँकी ४२ जनाको नाम फरार अभियुक्तको सूचीमा राखिएको छ । मुद्दाका अभियुक्तहरूमध्ये पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पाँच लाख धरौटी तथा कृष्ण पौडेल दुई लाख धरौटीमा रिहा भएका छन् । मुख्य अभियुक्त शोभाकान्त ढकालको मुद्दामा न्यायाधीशहरूबीच नै रायबाझी भएकाले उनी थुनामै रहेका छन् ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला प्रधानमन्त्री निवासले चर्चेको १ सय १४ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरु मध्ये शोभाकान्त ढकालबाट सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको विगो र जरिवाना माग गरिएको छ । १ सय १० जनाबाट जग्गा फिर्ता गरी कारबाही गर्न र ६५ जनाबाट जग्गा फिर्ता लिन अख्तियारले माग गरेको छ । यही प्रकरणमा एमाले नेता विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै केपी ओली सरकारको चर्को आलोचना समेत भएको थियो ।