तामझामका साथ बालुवाटार छाडेका ओलीले वाल्कोट पुगेर के भने ? - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

तामझामका साथ बालुवाटार छाडेका ओलीले वाल्कोट पुगेर के भने ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताएका छन् । नेता नेपाललाई उनले गद्दारको संज्ञा दिएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले नेता नेपाललाई गद्दारको संज्ञा दिँदै भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

आफ्नो सरकार ढाल्न नेपालले नै अगुवाइ गरेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको शपथका समयमा नेपाल राष्ट्रपति कार्यालय गएकामा आपत्ति जनाउँदै भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’ बालकोटस्थित आफ्नै घरको बार्दलीबाट समर्थकहरुलाई सम्बोधनका क्रममा नेपालविरुद्ध आक्रोश व्यक्त गर्ने ओलीले नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणीसमेत गरे ।

उनले पार्टीभित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालले सरकार ढाल्ने खेलमा अगुवाइ गरेको आरोप लगाए । उनले अदालतमा निवेदन हालेर सँधै परमादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी समेत दिए । एमाले नेताहरुले एकताको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरिरहेका बेला अध्यक्ष ओली वरिष्ठ नेता नेपालविरुद्ध झनै आक्रामक भएका थिए । हिजोको संबोधनमा पनि ओलीले नेता नेपाललाई अराजकको संज्ञा दिएका थिए ।अध्यक्ष ओलीले ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप प्रधानमन्त्री छानेर जात्रा देखाएको टिप्पणी गरे ।

अदालतले प्रधानमन्त्री तोकेर विश्वमा कहीँ नभएको जात्रा देखाएको छ भन्दै उनले जनताको बाटो छेकेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको नजिर कायम गरियो बताए । उनले भने, “जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन, देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।”

ओली बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट जाँदा एमाले कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेका थिए । एमालेको भ्रातृ संगठन युथ फोर्सले ओलीलाई बालुवाटारदेखि स्कर्टिङ गरी बालकोटसम्म पुर्‍याएको थियो ।

एमालेका केन्द्रीय सदस्य महेश बस्नेत इञ्चार्ज रहेको युवा सङ्घ नेपाल र युथ फोर्सका स्कर्टिङमा बालुवाटारबाट निस्केको र्‍याली दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, कौशल्टार हुँदै बालकोट पुगेको थियो । “पानीमा भिज्दै ओलीको समर्थनमा नाराबाजी गर्दै बालकोट आएको र्‍यालीमा बाजा गाजासहित पुष्पगुच्छा अर्पण गर्दै स्थानीयवासीले स्वागत मात्रै गरेनन्, अभिनन्दनसमेत गर्न भ्याए ।

सडकमा दायाँबायाँ हातमा फूल लिएर बसेको नागरिकले अध्यक्ष ओलीको गाडी रोकेर फूलका थुँगा दिएका थिए भने ओली निवासमा सूर्यविनायक नगरपालिकाको तर्फबाट नगरप्रमुख वासुदेव थापाले अभिनन्दन गरे । सडकदेखि घरको छतमा बसेर नागरिकले फूलका गुच्छाले स्वागत गर्नुका साथै नागरिकले अभिनन्दन गरेका थिए । र्‍यालीमा कार्यकर्ताले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधवकुमार नेपालविरूद्ध नाराबाजीसमेत गरेका थिए ।