क्रियाशील सदस्यताको जालोमा फस्यो कांग्रेस - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

क्रियाशील सदस्यताको जालोमा फस्यो कांग्रेस


काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन फेरि प्रभावित हुने संकेत शुरु भएको छ । क्रियाशील सदस्यताको विवाद समाधान नहुँदै महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको हो । त्यसका अलावा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि महाधिवेशनको तयारी प्रभावित बनिसकेको छ ।

पूर्व निर्धारित कार्य तालिका अनुसार २० गते भित्र नै क्रियाशील सदस्यता छानबिनको काम सकिनु पर्नेमा तोकिएको मितिको ११ दिन बित्दा पनि सकिएको छैन । कार्यपालिका अनुसार हिजो बुधवार नै क्रियाशील सदस्यता सम्बन्धी सूचीमा पार्टी सभापतिले हस्ताक्षर गरिसक्नु पर्ने र भने निर्वाचन समितिलाई बुझाउनु पर्ने थियो । तर यी कुनै काम अघि बढेका छैनन् । कांग्रेसमा यसपटक चार लाख ५१ हजार नयाँ क्रियाशील थपिएका छन् । यीनै क्रियाशील सदस्य नेताहरुलाई नेतृत्वमा पुर्याउने आधार भएकाले नेताहरु एक आपसमा सदस्यताको शक्ति प्रदर्शनमा उत्रिदा विवाद बढेर गएको बुझिएको छ ।

नेतृत्वले छानविन मापदण्ड तयार गर्न नसक्नु, धनुषा र वाराका कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा धर्ना बस्नु, सिन्धुपाल्चोक, बर्दिया लगायतका जिल्लामा समायोजनको लफडा हुन्, फोरम लोकतान्त्रिक र राप्रपाबाट प्रवेश गरेकाहरूलाई सदस्यता वितरणमा देखिएको धाँधलीका कारण समस्या भइरहेको क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेल बताउँछन् ।

प्रवक्ता पौडेलले १६५ निर्वाचन क्षेत्र मध्ये अब २२ निर्वाचन क्षेत्रको मात्रै सदस्यता छानबिन बाँकी रहेको जानकारी दिए । उनका अनुसार १४३ निर्वाचन क्षेत्रको सदस्यता छानबिनको काम भने सकिएको छ । यसै गरी १४३ क्षेत्रको सदस्यता छानबिन गर्दा ७० वटा वडाका सदस्यतामा विवाद देखिएपछि स्थगित गरिएको छ । विवाद देखिएका धेरै तराइका जिल्ला छन् । ति विवाद मिलाउन पदाधिकारी स्तरबाट मात्र संभव देखिएको छ ।

काग्रेसले सदस्यताकै विषयसहित १४औँ महाधिवेशनका लागि पूर्व निर्धारित कार्य तालिका समेतका विषयमा छलफल गर्न विहीबार पदाधिकारी बैठक बस्ने तयारी गरेको भए पनि स्थगित भएको छ । बैठकमार्फत पूर्व निर्धारित तालिकालाई संशोधन गर्ने काँग्रेस शीर्ष नेतृत्वको तयारी छ । यसो हुँदा केन्द्रीय महाधिवेशन पनि प्रभावित हुने हो कि भन्ने आशंका जन्माएको छ ।