कांग्रेस महाधिवेशन तोकिएकै मितिमा गर्ने देउवाको इच्छा - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

कांग्रेस महाधिवेशन तोकिएकै मितिमा गर्ने देउवाको इच्छा


काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन कार्यतालिका हेरफेर गरेर भएपनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तयारी शुरु भएको छ । यसका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी दिएको हो ।

बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने बताएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबारको बैठकले क्रियाशील सदस्यताको विवादका कारण भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको केन्द्रीय निर्वाचन समिति, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललाई निर्वाचन निर्देशिकामा रहेका अप्ठ्यारा सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

क्रियाशील सदस्यतामा केही विवाद देखिए पनि यही विषयका कारणले महाधिवेशनको मिति भने नसर्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले महाधिवेशन निर्धारित मितिभन्दा एक दिन पनि पछाडि सार्न नसकिने अभिव्यक्ति दिएका मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले अन्य पार्टीबाट काँग्रेसमा समायोजन भएर आएका नेता कार्यकर्ताहरूको समायोजन सम्बन्धी विषयमा जानकारी गराएका छन् भने निर्वाचन सम्बन्धी निर्देशिका निर्माणका विषयमा समेत छलफल भएको छ।

गत असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिकानुसार गाउँरनगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो । तर सो अवधिमा काम सम्पन्न हुन नसकेकाले समितिले केही समय माग गरको छ ।

यसअघि सभापति देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन गर्ने प्रतिवद्धता जनाइसकेका छन् । देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

केही दिनअघि एक वक्तव्य जारी गर्दै उनले भनेका छन् ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’ असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।