अध्यक्ष प्रचण्ड र नेता नेपालबीचको भेटवार्ता अर्थपूर्ण - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

अध्यक्ष प्रचण्ड र नेता नेपालबीचको भेटवार्ता अर्थपूर्ण


काठमाडौं । प्रतिनिधिसभा बैठकको पूर्वसंन्ध्यामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले नेपाललाई कोटेश्वरमा गएर भेटेका हुन् ।

शनिबार दिउँसो अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका थिए । सो क्रममा उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा पनि नेपालसँग भेट्न केही दिनअघि नेपाल निवास कोटेश्वरमै गएका थिए । भेटका अवसरमा नेपालले प्रधानमन्त्री भएकोमा देउवालाई बधाइ दिएका थिए ।

आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकका विषय र नयाँ सरकारको सन्दर्भमा उनीहरुबीच छलफल भएको थियो । त्यस क्रममा नेपालले प्रतिनिधिसभा बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आश्वासन दिएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते अर्थात भोलि आइतबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

यता, नेकपा एमालेको स्थायी कमिटी बैठकले एमाले एकता कार्यदलको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा प्रचण्ड र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवाललीले जानकारी दिएका छन् । यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

 

"