अदालतले जस्केलाबाट निर्दलीय व्यवस्था भित्र्यायो - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

अदालतले जस्केलाबाट निर्दलीय व्यवस्था भित्र्यायो


काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउने नाममा सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्था भित्र्याएको आरोप पनि लगाए । उनले देशमा पुनः निर्दलीय व्यवस्थाको अभ्यास भएको टिप्पणी गरे । एमालेले सर्वोच्च अदालतको फैसला मान्ने बताउँदै नेता ज्ञवालीले सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको गर्न नसकिने बताए।

‘एमाले विधिको शासनमा विश्वास गर्छ। संविधानको सर्वोच्चतामा विश्वास गर्छ। जतिसुकै अप्रिय भए पनि हामी सर्वोच्च अदालतका फैसला मान्छौं तर, जे भए पनि सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको हामी कल्पना गर्दैनौं’ उनले भने ।

त्यस्तै ज्ञवालीले सर्वोच्चको अपव्याख्याबाट देउवा प्रधानमन्त्री बनेकोप्रति आपत्ति जनाउँदै उनले भने, ‘२०६१ सालमा उहाँलाई श्री ५ ले प्रधानमन्त्री बनाएका थिए। न्याय पायौँ भन्नु भयो तर माघ १९ मा आइपुग्दा के भयो हामीलाई थाहा छ। अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाइदिएका छन्। तर यसले हाम्रो बहुदलीय व्यवस्थालाई कुरुप बनाउँदैछ।’

ज्ञवालीले न्यायाधीशहरु आफै रेफ्री बनेर आफैंले गोल हानिदिएको र कसैलाई विजयी घोषणा गरिदिएको आरोप लगाए । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेस गरेपछि बोल्दै उनले अदालत रेफ्री भए पनि उ आफैले गोल गरेर कसैलाई विजयी बनाइदिएको आरोप लगाएका हुन् ।

पहिले २०५९ सालमा राजाले शासन सत्ता हातमा लिएको र २०६१ मा संसद् फिर्ता गरेपछि न्याय मिलेको प्रतिक्रिया दिएकोप्रति व्यङ्ग्य गर्दै त्यसपछि माघ १९ मा के भयो भन्ने ज्ञवालीले प्रतिप्रश्न गरेका छन् ।