प्रधानमन्त्रीमा शेर बहादुर देउवाले पाए विश्वासको मत - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

प्रधानमन्त्रीमा शेर बहादुर देउवाले पाए विश्वासको मत


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट सांसदको विश्वास प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको छ । सहभागी भएका २४९ मध्ये देउवाको समर्थनमा १६५ सांसदले मत दिएका छन् । विपक्षमा ८३ र तटस्थमा १ मत परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट २९ असारमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आज आइतबार प्रधानमन्त्री बनेको छैठौं दिनमा नै प्रतिनिधि सभामा विश्वासको मत लिएका हुन् ।

देउवाले नेपालको संविधानमा धारा ७६ को उपधारा(६)बमोजिम आफूमाथि प्रनिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेश गरेका थिए । देउवाको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली निकटका चार सांसदले पनि समर्थन गर्दै मत दिएका छन् भने वरिष्ठ नेता माधवकुमार पक्षका ११ सांसदले मात्रै मत दिएका छन् ।

देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्। सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

"