ओलीको एक्सन: २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण - रुपान्तरण
 २०८१ बैशाख २७, बिहीबार    

ओलीको एक्सन: २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार संसदमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय गरेको पनि ज्ञवालीले बताए ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका थिए । बैठक मंगलबार मंगलबारसम्मका लागि स्थगित भएको छ ।

बैठकमा नेपाल समूहका नेताहरू सहभागी भएका थिएनन् भने माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूको उपस्थिति थियो ।

आइतबार देउवालाई माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले विश्वासको मत दिएका थिए ।