जोन्सन खोपप्रति खुशी हुनुको अर्थ - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

जोन्सन खोपप्रति खुशी हुनुको अर्थ


काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि बुधबारसम्म लगाइँदैछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउने कार्यको शुभारम्भ गरेका छन्। काठमाडौं जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गरेका हुन् ।

त्यसक्रममा उनले सरकारको पहिलो प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् । अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि उपस्थित थिए । यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई खोप लगाउने केन्द्रहरुको पनि अनुगमन गरे ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै कोरोना विरुद्धको खोप पहिलो प्राथमिकता भएको बताएका देउवाले आइतबार साँझ प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा पनि सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता पनि खोप भएको बताएका थिए ।

प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री देउवाले अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण भएको बताएका थिए ।

जोन्सन एण्ड जोन्सनको यो एक डोज मात्र लगाए पुग्ने खोप १३ लाख जनसंख्यालाई लगाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । १५ लाख खोप ५० देखि ५४ वर्ष उमेर समूहभित्रका सबै व्यक्ति, पूर्ण तथा अति अशक्त अर्थात् अपाङ्गताको ‘क’ र ‘ख’ वर्गमा रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सरसफाईकर्मी तथा स्वास्थ्यकर्मीलाई तीन दिनसम्म लगाइनेछ ।

खोप अनिवार्य गरेको देशमा जानेहरूलाई सरकारले भेरोसेल लगाउने निर्णय गरेको थियो । तर, रोजगार दाता देशले भेरोसेल खोपलाई स्वीकृति नदिएका कारण अन्तिम समयमा जोन्सनको खोप लगाउने निर्णय गरिएको खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

वैदेशिक रोजगारमा जाने व्यक्तिहरु खोप लगाउन पाएसँगै रोजगारी जोगिएकामा निकै खुसी भएका छन् । खोप लगाएर जानेहरूका लागि क्वारेन्टाइन बस्नुनपर्ने भएकाले पनि वैदेशिक रोजगारका जानुपर्ने यात्रुहरू खुसी भएका छन् ।

साउदी, कतार लगायतका खाडी मुलुकहरूले अमेरिकामा बनेको जोनसन, फाइजर, मोडर्नाको खोपलाई मात्र स्विकृति दिएका छन् । यस्तै खोप लगाउन पाएपछि ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति पनि निकै हर्षित छन् ।

नेपालमा हालसम्म कोभिसिल्ड र भेरोसेल खोप ३५ लाखभन्दा धेरै व्यक्तिले लगाइसकेका छन् । यी दुई खोपको दोस्रो मात्रा ११ लाख ३० हजार व्यक्तिले मात्र पूरा गरेका छन् । सो अनुसार हाल सम्म नेपालको जनसंख्याको जम्मा ३ दशमलब ७६ प्रतिशत व्यक्तिले मात्र कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । जोनसोनको खोप अभियान चलिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि खोप सहयोगबारे देउवासँग टेलिफोन वार्ता भएको छ ।