देउवा सरकारलाई डा.केसीको चेतावनी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

देउवा सरकारलाई डा.केसीको चेतावनी


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारसँग पाँच बुँदे माग अघि सारेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै आफ्ना माग अघि सारेका हुन् ।

डा.केसीले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ सरकारलाई आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताए। उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग पहिलो प्राथमिकतामा राखेका छन् ।

डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका हुन् । प्रतिष्ठानमा अहिले चलिरहेको आन्दोलनकारीका मागहरू पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने उनको माग छ ।

यस्तै वीपी कोइराला प्रतिष्ठानसहित कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार निष्पक्ष रूपमा नियुक्त गर्नुपर्ने माग पनि राखेका छन् । आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने उनले चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई पनि डा केसीले अघि सारेका छन्।