रोजगार कार्यक्रमको पैसा जनप्रतिनिधिको झोलामा - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

रोजगार कार्यक्रमको पैसा जनप्रतिनिधिको झोलामा


रुकुम पश्चिम । गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार गरी गरिबी न्युनिकरणमा सहयोग पुर्‍याउने लक्ष्यका साथ कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम यहाँका जनप्रतिनिधिले चेक साट्ने बित्तिकै पैसा फिर्ता लिने गरेका छन् ।

चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडा जनप्रतिनिधिहरुले आफ्नो वडामा परेको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको दुई ओटा योजनाको रकम बिभिन्न व्यक्तिको खातामा जम्मा भएपछि बैंकमा बोलाएर पैसा फिर्ता लिने गरेका हुन् । प्राप्त जानकारी अनुसार स्वरोजगारको लागि फर्जि नाम दर्ता गराएर कामै नगरेका बिभिन्न व्यक्तिहरुको बैंक खाता मागेर लाखौं रकम बैकमा जम्मा गरिएको थियो । सोही रकम निकाल्न बैंकमा बोलाउँदै फिर्ता लिदै गरिएको खातावालाहरुले बताएका छन् ।

आइतबार, सोमबार र मंगलबार तीन दिन वडाबाट बोलाईएका बिभिन्न व्यक्तिहरुले चौरजहारीमा रहेको राष्ट्रिय वाणिज्य बैकबाट पैसा निकाल्ने बित्तिकै वडा सदस्य शशीराम नेपालीको झोलामा जम्मा गर्ने गरेका हुन् । नाम प्रकाशन नगर्ने सर्तमा एक खातावालाले भने, ‘मेरो खातामा ६४ हजार जम्मा भएको रैछ, सबै निकाले, पाँच हजार मलाई दिनुभयो, अरु सबै उहाँले झोलामा हाल्न लगाउनुभयो ।’ उनले गाउँका सबैजसोले केही रकम खातावालालाई दिएर अरु सबै रकम जनप्रतिनिधिले फिर्ता लिएको जानकारी दिए ।

बैंक खाताको रकम निकाल्ने बित्तिकै जनप्रतिनिधिले लिने गरेको सूचना पाएपछि सोही वडाका एक अर्का व्यक्तिले आफ्नो खातामा जम्मा भएको सरकारको रकम जनप्रतिनिधिलाई फिर्ता नदिने भन्दै बैंक नगएको बताए । करिब २ घण्टा हिडेर घरबाट बैंक पुगेको बताउनदै उनले अर्को दिन आएर चेक साट्ने जनाए ।

व्यवहारिकता मिलाउन पैसा फिर्ता लिएका हौं : जनप्रतिनिधि

यस बिषयमा चौरजहारी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य शशीराम नेपालीले व्यवहारिकता मिलाउन केही रकम फिर्ता लिईएको बताए । उनले कालिका आधारभूत विद्यालयको फिल्ड तथा पर्खाल निर्माण र गेरुखोला सिचाई पोखरी निर्माणको लागि कार्यक्रम परेको जानकारी दिंदै वडाबाट ४० जनाको नाम र खाता मिलाएर पठाएको र खातामा जम्मा भएको जम्मा रकम मध्य केही रकम फिर्ता लिईएको प्रतिक्रिया दिए । बैंक मै बसेर चेक साट्न बित्तिकै फिर्ता लिएको गुनासो छ, खास कुरा के हो नि भनेर सोधेको प्रश्नमा वडा सदस्य नेपालीले भने, ‘बजारमा योजनाको रकम तिर्नु थियो, कार्यवहाक वडा अध्यक्ष देवी खड्का र एक जना शिक्षक पनि थियौं । केही रकम व्यवहारिकता मिलाउन फिर्ता लिएका हौं ।’ उनले उक्त योजनाको लागि बजारबाट सरिया, सिमेन्ट लिएको, बालुवा बोकेको गाडीलाई तिर्न बाँकी रहेकोले व्यवहारिक कुरा मिलाउन त्यसो गरिएको जनाए । आइतबार र सोमबार केही व्यक्तिले बैंक निकालेको र अब नौं जनाले मात्र रकम निकाल्न बाँकी रहेको समेत नेपालीले जानकारी दिए ।

पाँच हजार मात्र दिएर अरु रकम फिर्ता लिनुको कारण बारे सदस्य नेपालीले फिर्ता लिएको स्विर्कादै भने, ‘कसैले पाँच हजार लिए, कसैले बिस हजारसम्म पनि लिएका छन् ।’ उनका अनुसार वडा नम्वर ८ बाट परेका ४० जना मध्य कममा ४६/४७ हजार र बढीमा ६४/६५ हजारसम्म रकम खातामा जम्मा भएको हो ।

यस बिषयमा चौरजहारी नगरपालिकाकी उपप्रमुख राधा रोकाले उक्त वडामा दुई वटा योजना वापतको १० लाख रकम रकम नगरपालिकाबाट दिइएको बताउँदै परिणाममुखी कामको लागि वडाले निर्देशिका मिचेको हुन सक्ने बताइन । विकास निर्माणको कामको लागि खरिद गरिएका बिभिन्न सामग्रीको पैसा मेकअप गर्नका लागि काम नगरेकाहरुको पैसा फिर्ता लिइएको हुनसक्ने भन्दै स्थानीय स्तरको आवश्यकता अनुसार थोरै निर्देशिका मिचेर काम गर्नुपर्ने बाध्यता रहेको समेत उप प्रमुख रोकाले उल्लेख गरिन् । वडाले काम गरेको दिनको मात्रै दिने र अरु रकम फिर्ता दिनेगरी पहिले नैं जानकारी गराएको बताउँदै उनले बैंकमै जनप्रतिनिधि गएर पैसा फिर्ता माग्नु गलत भएको जनाइन् ।

रोजगार कार्यक्रमबाट अन्यत्र भन्दा भन्दा नमूनायोग्य काम गरेको दाबी गर्दै उप प्रमुख रोकाले निर्देशिकालाई मात्र फ्लो गर्न खोज्दा स्थानीय आवश्यकता पूरा गर्न मुश्किल भएको उल्लेख गरिन् । कामै नगरेका मान्छेको खातामा पैसा हालेर फेरि फिर्ता माग्ने कार्य व्यबहारिकता मिलाउन गरेको भन्दै उनले त्यस कार्यको बचाउन समेत गरिन् ।