कांग्रेस नेतृत्व चयन गर्न ‘डिजिटल भोटिङ’ - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

कांग्रेस नेतृत्व चयन गर्न ‘डिजिटल भोटिङ’


काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन ‘डिजिटल’ प्रणालीबाट गर्न सकिने गरी तयारी अघि बढाएको छ । कोरोना महामारी वा अन्य कारणले भौतिक रुपमा उपस्थिति जनाएर भोट दिन नसके डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्नेगरी प्रविधिको तयारी गरको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको महाधिवेशनका लागि केन्द्रीय समितिले आवश्यक ठानेमा ‘डिजिटल भोटिङ’ को प्रविधि सुनिश्चित भएको जनाएको छ । विभागले त्यसका लागि तयारी स्थितिमा रहेकोसमेत भनेको छ । विभागको गत असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको हो ।

जसअनुसार केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था रहेको प्रचार विभागका सचिव दिनेश थापा मगरले बताएका छन् । कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको उनले भनेका छन् ।

‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता रहेको छ ।

‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत विभागले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको जनाएको छ ।

प्रविधिमैत्री अभियान अन्तर्गतको थप प्रगतिबारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने गरिने बताइएको छ ।

पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने तयारीसमेत विभागको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने विभागको तयारी छ ।

यसैगरी महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशिल सदस्यबीच पुर्‍याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव मगरलाई दिइएको छ ।

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा हालै बसेको बैठकले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरिएको हो ।