एमाले बाहेकका शीर्ष दलका नेतालाई सत्ता शयरको मोह - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

एमाले बाहेकका शीर्ष दलका नेतालाई सत्ता शयरको मोह


काठमाडौं । यतिबेला राजनीतिक दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्ने दौडधुपमा छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरिसकेपछि नेकपा एमालेको ओली पक्षबाहेक अन्य सबैलाई सत्तासयरको रहर जागेको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी रहेका बेला शीर्ष नेताहरूले भेटघाटमा सक्रियता देखाइरहेका हुन् । मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुङ्गो लागिसकेको छैन । प्रधानमन्त्री देउवाले यस अघि नै मन्त्रिपरिषदमा काँग्रेसबाट २ र माओवादीबाट २ मन्त्री नियुक्त गरिसकेका छन् । मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।

यता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष पनि देउवा नेतृत्व सरकारमा जान तयार देखिएको छ । तर औपचारिक निर्णय भने गरेको छैन । एमालेको माधवकुमार नेपाल पक्ष जस्तै अलमल अलमल परेको ठाकुर पक्ष तीनवटा मन्त्रालय लिएर सरकारमा सामेल हुने संकेत गरेको छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा मात्र सरकारमा सहभागी हुने भनिए पनि अहिले ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको हो । जसपाका ३२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा पहिले ठाकुर पक्ष सरकारमा सहभागी नहुने पक्षमा रहेको थियो ।

ठाकुर पक्षले अन्तिम समयमा प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएको दिएको थियो । देउवालाई विश्वासको मत दिने बेला ठाकुर पक्षका नेता महन्थ ठाकुरले देउवालाई बधाइ तथा शुभकामना समेत दिएका थिए ।

देउवा प्रधानमन्त्री भएपछि ठाकुर पक्षले मंगलबार बोलाएको कार्यकारिणी समितिको बैठकले जसपाले राखेका माग पूरा गर्न देउवालाई ध्यानाकर्षण गराउने औपचारिक निर्णय गरेको छ । ठाकुर पक्षले देउवासँग रेशम चौधरीको रिहाइ, संविधान संशोधन, मधेस आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा खारेज, लाल आयोगको प्रतिबेदन सार्वजनिक र नागरिकता विधेयक पास गर्न माग राखेको छ ।

ठाकुर पक्षका नेता राजिव झाले प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएपछि आफूहरु सरकारमा जाने सम्भावना रहने बताए । यसैगरी ठाकुर निकट नेता डा.सुरेन्द्र झाले पनि सरकारमा जाने सम्भावना रहेको प्रतिक्रिया दिए । तर ठाकुर पक्षलाई सरकारमा लैजाने नलैजाने जिम्मा भने गठबन्धनका नेता तथा प्रधानमन्त्री शेर बहादुर देउवाको काँधमा रहेको छ।

केपी ओली नेतृत्व सरकारमा ठाकुर पक्षका १० नेता १९ दिन र एक नेता १३ दिनसम्म सहभागी भएका थिए । सर्वोच्चको फैसला पछि ठाकुर पक्षका नेताहरु सरकारबाट बाहिरिएका थिए । पछिल्लो समय ठाकुर पक्षका केही सांसदहरु अर्को पक्ष उपेन्द्र यादवतिर लागेका छन् । यसबाट संसदीय दलमा पनि यादव पक्ष बहुमतमा देखिएको छ ।