उद्यमशील युवा र परिवर्तनशील कांग्रेस आजको आवश्यक्ता हो: रन्जित कर्ण(भिडियो) - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

उद्यमशील युवा र परिवर्तनशील कांग्रेस आजको आवश्यक्ता हो: रन्जित कर्ण(भिडियो)


नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशनको तयारीकै क्रममा कांग्रेसलाई राज्य सत्ता संचालनको अवसर मिलेको छ । यस्तो अवस्थामा महाधिवेशन भन्दा सरकार संचालनमा कांग्रेस केन्द्रीत भएको देखिन्छ । भावी दिनमा पार्टीको नेतृत्व तहमा युवा पुस्ताले अवसर पाउनेपर्ने भनेर देशब्यापी अभियानमा जुटेका नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेसका युवा नेता रन्जित कर्णले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न प्रविधि उपयोग गर्न सक्नुपर्ने बताउँछन् । कोरोनाको यस्तो महामारीका बेला भौतिक रुपमा महाधिवेशन सम्भव नभए पनि जिल्ला जिल्लामा डिजिटल प्रविधिको प्रयोग गरेर अधिवेशनहरु सम्पन्न गर्नुपर्ने बताएका छन् ।

कांग्रेसमा देखिएको गुट उपगुटको समस्याका कारण संगठन सुदृढ नभएकाले अब बैचारिक समूहको आवश्यक्ता रहेको उनको बुझाइ छ । क्रियाशील सदस्यता लिएका कार्यकर्ताले पार्टीलाई मतदानका क्रममा धोका दिंदै आएकाले अब सोही अनुरुपको रणनीति पार्टीले तयार गर्नुपर्ने उनको सुझाव छ । कांग्रेसले पुरातन सनातन धर्मलाई संरक्षण गर्नुपर्ने भएपनि हिन्दु राष्ट्रका बारेमा स्पष्ट नभएकाले धार्मिक स्वतन्त्रतालाई प्राथमिकता दिनुपर्ने उनको जोड छ ।

कांग्रेसलाई अब क्रियाशील र पार्टीमा सक्रिय युवाहरुलाई उद्यमशिल बनाउनु पर्ने उनको बुझाइ छ । राजनीतिमा लागेका युवाले आफ्नो बेग्लै उद्यम गरेर राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्ने र पार्टीको युवा नीति बनाएर परिवर्तनशील कांग्रेस बनाउनुपर्ने उनको जोड छ । आसन्न महाधिवेशनमा सहमहामन्त्रीको आकांक्षा राखेका कर्णले राजनीतिमा लागेका युवाले आफ्नो क्षेत्र वा देशलाई विकासको स्पष्ट खाका वा उत्कृष्ट कार्ययोजना लिएर अघि बढाउनुपर्ने र सामूहिक भावनाका साथ अघि बढ्नुपर्ने सुझाव छ ।