कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा


काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंहले बुधबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं बाट निर्वाचित उनले पार्टीको क्रियाशील सदस्यतामाथि भएको छानबिनप्रति असन्तुष्टी जनाउँदै सभापति शेर बहादुर देउवालाई राजीना पत्र बुझाएका हुन् ।

सिंहले प्रदेश नम्बर २ मा कांग्रेस उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारप्रति चिन्ता व्यक्त गर्दै राजीनामा बुझाएको बताएका छन् । निष्ठावान युवालाई नसमेटी मनोमानी तरिकाले क्रियाशील सदस्यता वितरण भएको उनको आरोप छ ।

निधिको रवैयाकै कारण प्रदेशमा काँग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।

उनले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीमा उत्पन्न विवादले पार्टीलाई चुस्त र गतिशील बनाउन अवरोध गरेको पनि बताएका छन् ।

पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै कांग्रेस पार्टी कार्यालयमा सर्लाहीलगायत धनुषा, बाराका नेता तथा कार्यकर्ता धर्नामा छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।

‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’उनले लेखेका छन् ।