देउवाको बचनः पहिले खोप त्यसपछि विकास - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

देउवाको बचनः पहिले खोप त्यसपछि विकास


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई महामारीबाट मुक्त गराउन उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे । उनले कोभिड–१९ महामारीको समस्या समाधान गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्दै यसको नियन्त्रणमा उद्योगी, व्यापारीहरुले हातेमालो गरे छिट्टै मुक्त हुन सकिने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले वर्तमान अर्थमन्त्री मेहेनेती भएको बताउँदै उनले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे । प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउनु आफ्नो पहिलो प्रथमिकता भएको स्पष्ट गर्दै प्रधानमन्त्रीले आर्थिक विकास र लगानी प्रवद्र्धनलाई पनि उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको जानकारी गराए । “विकासलाई हामीले प्राथमिकता दिएका छौँ, तर त्योभन्दा पहिले आम नागरिकको ज्यान जोगाउने विषय महत्वपूर्ण हो”, उनले भने, “महामारीबाट पार पाउनु चुनौतीपूर्ण छ, हाम्रो पहिलो प्राथमिकता खोपको व्यवस्था नै हो ।”

अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता बोध कोभिडको महामारीले गराएको विचार व्यक्त गर्दै परिसङ्घको ‘मेक इन नेपाल’ स्वदेशी उत्पादन प्रवद्र्धन अभियानको सराहना गरे । उनले महामारीका कारण थलिएको अर्थतन्त्रलाई उजिल्याउन निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्ने दृढता व्यक्त गरे । उनले भने, “निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धिमा सरकारले सघाउनेछ ।”

परिसङ्घका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीले विद्वत् समूहको रुपमा परिसङ्घले काम गरिरहेकामा कृतज्ञता व्यक्त गर्दै प्रजातन्त्रको अभ्युदयसँगै नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरिएका आर्थिक सुधारका कार्यक्रममले निजी क्षेत्रको लगानी अभिवृद्धि, आन्तरिक राजश्व परिचालनमा योगदान भएको बताए । उनले बदलिएको वर्तमान परिवेशमा अब दोस्रो चरणका सुधारका कार्यक्रमम आउनुपर्नेमा जोड दिए ।