ओली-नेपाल जुहारी: दोस्रो अध्यक्ष बनाउने ओलीको ‘कार्ड’ - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

ओली-नेपाल जुहारी: दोस्रो अध्यक्ष बनाउने ओलीको ‘कार्ड’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गरेका छन् । नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए पनि पार्टीमा बहुमत सदस्य खोजेकाले कुरा बिग्रिएको आरोप पनि उनले लगाए । दोस्रो अध्यक्ष बनाउन नेपालले राखेको माग पूरा गर्न आफू तयार रहेको कार्यदलका सदस्यहरुलाई भनेको दावी उनको दाबी थियो ।

केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो भएको भन्दै भने ‘अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छु ।’

एकता भएमा सबै संरचना ०७५ जेठ २ कै अवस्थामा पुग्नेबाट क्रियाशील हुने भन्दै ओलीले बैठकमा भने, ‘पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु । यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’ केन्द्रीय कमिटीमा बहुमत आफूहरुलाई निकाल्न खोजेको ? भन्ने प्रश्न गर्दै ओलीले त्यो सम्भव नरहेको पनि उनले बताएका हुन् ।

यसैबीच, एमालेले फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६(५) लाई सच्याउन संविधान संशोधनका लागि एजेण्डा बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीले चारबुँदे विशेष प्रस्ताव पारित गर्दै सर्वोच्चको फैसलाले जस्केलाबाट निर्दलीयता छिराइएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि नै प्रहार भएकाले यसको संवैधानिक माध्यमबाटै समाधान गर्ने निर्णय एमालेले गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६(५)को निर्दलीय व्याख्या भएको छ, त्यसलाई सच्याउँछौं ।’

यता, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीले स्पष्टीकरण २४ घन्टे स्पष्टीकरणको कुनै अर्थ नभएको प्रतिक्रिया दिएको छ। नेपाल समूहको स्थायी समिति बैठकले नेता नेपालविरुद्ध भइरहेका गतिविधि तत्काल बन्द गर्न प्रस्तावसमेत पारित गरेको छ।

एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने कार्य रोकिनुपर्ने प्रस्तावमा उल्लेख छ।

संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्ने पनि नेपाल समूहको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा उल्लेख छ। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको पत्र आज पठाएको छ।

स्पष्टीकरण पत्रमा पार्टीविरुद्ध विभिन्न भेला आयोजना गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र पार्टीको निर्णयविरुद्ध विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य गरेको आरोप लगाइएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यसअघि सोमबार र मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो। ती सबै बैठकमा नेपाल समूह अनुपस्थित रहँदै आएको छ।