तोडिने भयो वालुवाटारको पूरानो संस्कार - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

तोडिने भयो वालुवाटारको पूरानो संस्कार


काठमाडौं । चौतर्फी दबाबपछि नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आफ्नो पार्टीको बैठक स्थल नबनाउने भएको छ । बृहत नागरिक आन्दोलन, कांग्रेस नेता गगन थापालगायतले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका थिए ।

उनीहरुले सरकारी भवनलाई पार्टीको बैठक र छलफल राखेर राज्यकोषको दोहन रोक्न माग गरेका थिए देउवा सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका थिए । बृहत नागरिक आन्दोलनले त सार्वजनिक अपिल नै गरेको थियो ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विगतको परम्परालाई तोड्दै अबदेखि बालुवाटारलाई पार्टीको बैठक स्थल नबनाइने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन् ।

उनले भोलि ८ गते प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक डाकिएकोसमेत भनेका छन् ।

काँग्रेसले भोलि बोलाइएको पदाधिकारी बैठकमार्फत पार्टीको १४औँ महाधिवेशनको कार्य तालिकालाई संशोधन गर्ने बताइएको छ । काँग्रेसको पदाधिकारी बैठक १ साउनमा बालुवाटारमा बस्दा चौतर्फी विरोध भएको थियो । सरकारको नेतृत्व गरेपछि सबै राजनीतिक दलहरुले वालुवाटारलाई पार्टीको आश्रय स्थल बनाउँदै आएका थिए । देउवाले त्यो संस्कार तोड्ने लगभग निश्चित भएको छ ।