ओलीले दिएको आममाफी महाराजाधिराजको हुकुम जस्तै - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

ओलीले दिएको आममाफी महाराजाधिराजको हुकुम जस्तै


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई महाराजाधिराजको संज्ञा दिएका छन् । उनले आममाफी दिएकोमा आफूहरू गदगद भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले ओलीले दिएको आममाफी महाराजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरे ।

उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्‌गद् भयौं !’

वरिष्ठ नेता नेपालले ओली खुसी भएको भनेर व्यङ्ग्य गर्दै यस्तो चरित्रलाई कम्युनिष्ट भन्ने हो भन्दै प्रश्न गरेका छन् । उनले थपे, ‘महाराजाधिराज खुसी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?’

नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद्लाई सलाम गरेका छन् ।

नेता नेपालले भने, ‘केपी ओलीले संसद् विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ भन्न खोज्नुभयो । तर, त्यसलाई हामीले जोगाएका छौं, संविधानको रक्षा गरेका छौँ । स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौं, मसँग जोडिएर देउवालाई विश्वासको मत दिनेलाई सलाम भन्न चाहन्छु ।’ नेता नेपालले पार्टीमा हाल देखिएको अन्तर्विरोध पदका लागि नभएकोसमेत बताए ।

एमाले अध्यक्ष ओलीले बिहीबार ललितपुरको एक कार्यक्रममा बाटो बिराएका नेताहरूलाई आममाफी दिने घोषणा गरेका थिए । उनले आजको दिनसम्म जे जस्तो भए पनि अब पार्टीमा मिलेर जानुको विकल्प नभएको भन्दै आममाफी दिएको बताएका थिए । त्यसअघि देउवाको पक्षका हस्ताक्षर गर्ने २२ सांसद्लाई स्पष्टिकरण सोधिएको थियो ।