जनताले विकल्प खोजेका छन्, राप्रपा वैकल्पिक शक्ति बन्छ - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

जनताले विकल्प खोजेका छन्, राप्रपा वैकल्पिक शक्ति बन्छ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिष्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने बताएका छन् ।

कांग्रेस र कम्युनिष्टबाट आजित भएका जनताले विकल्पको खोजी गरेको बताउँदै अध्यक्ष थापाले राप्रपालाई वैकल्पिक शक्ति बनाउन सक्रियतापूर्वक काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । थापाले आगामी कार्तिक २७ देखि हुने पार्टीको महाधिवेशनपछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि देशब्यापी आन्दोलन गर्ने पनि बताए ।

राप्रपा काठमाडौं क्षेत्र नं५(ख)को कार्यकर्ता भेलामा उनले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना साथै भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपको विरोधमा देशव्यापी आन्दोलन गर्ने बताएका हुन् ।

‘जनताले अहिले हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता महसुस गरेका छन्। यो एजेण्डाको असली संवाहक राप्रपा हो।राप्रपा बलियो भएमात्र यो एजेण्डा स्थापित हुन्छ’ उनले भने, ‘राप्रपा र यसको नेतृत्वलाई कमजोर बनाउँनु हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा सँधैको लागि समाप्त पार्नु हो।’
त्यस्तै थापाले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन एकता महाधिवेशनले अनेकता र विभाजन होइन सहमति र एकताको सन्देश दिनुर्ने पनि बताए । उनले भने, ‘हाम्रो संगठन तुलनात्मक रूपमा कमजोर छ। अन्य दलहरुमा जस्तो गुटबन्दी र अनुशासनहीनता राप्रपाले धान्न सक्दैन। एकपटक सबै मिलेर पार्टीलाई जुरुक्क उचाल्नु पर्छ ।’

अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्न नरहेको भन्दै अबको विकल्प राप्रपा भएको दावी गर्नुभयो । चौध वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताउँदै अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने जनताले राप्रपालाई रोज्नुपर्ने टिप्पणी गरे । उनले नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको उनको आरोप छ ।

पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्तालाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरे ।