गाउँ-गाउँमा छ्याप्छ्याप्ती संक्रमित छन्, नेपालमै खोप उत्पादन गरौं - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

गाउँ-गाउँमा छ्याप्छ्याप्ती संक्रमित छन्, नेपालमै खोप उत्पादन गरौं


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरूवा रोग विशेषज्ञ डा. सागरराज राजभण्डारीले नेपालमा कोरोना संक्रमितको आवश्यकता अनुसार उपचार हुन नसकेको बताएका छन् । कन्ट्याक्ट–ट्रेसिङ परेकाको जाँच गर्न नसक्नु गल्ती हो भन्दै उनले भने,‘गाउँ–गाउँमा छ्याप्छ्याप्ती संक्रमित रहेका छन्, चेकजाँच हुन सकेको छैन् ।’

उनले तेस्रो भेरियन्टबाट १८ वर्ष मुनिका र खोप नपाएका प्रभावित हुने जिकिर गरे । सरकारका तीन निकायबीच अझैपनि समन्वय हुन नसकेको उनको भनाई थियो । उनले कोभिड–१९ नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको अहम भूमिका रहने बताए । ‘नियन्त्रणको लागि प्रत्येक व्यक्तिमा आँफै दायित्वबोध हुनुपर्छ ।’ उनले भने,‘तीन महिनाभित्र खोप ल्याइसक्नुपर्छ ।’ उनले तोकिएको उमेरसमु्हलाई खोप नदिएर आफ्ना नजिककालाई खोप दिएको समेत आरोप लगाउदै राजभण्डारीले भने, ‘तोकिएको उमेरसमुह लाई समयमै दिनुपर्छ ।’

देश विकराल अवस्थामा छ भन्दै अझैपनि हेलचक्राई गरेमा आक्रामक रुपमा आइरहेको तेस्रो भेरियन्टबाट धेरै क्षति हुने जिकिर गरे । सार्वजनिक स्थानमा स्वास्थ्यका मापदण्ड नअपनाएको भन्दै डा. राजभण्डारीले स्वास्थ्यका मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । डेल्टा प्लस थ्री बडो आक्रामक रुपमा आउने भन्दै यसबाट अत्यधिक चाँडो संक्रमण बढ्ने उल्लेख गरे । उनले आफ्नो पालामा टेकु अस्पतालमा २ वटा भेन्टिलेटरबाट २२ वटासम्म बनाएको बताए । कोभिड–१९ २÷४ महिनामै जानेवाला छैन् भन्दै यसबाट कसरी बच्ने त्यतातिर ध्यान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका पूर्व निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डेले कोरोना भाइरस लामो समय रहने भन्दै नेपालमै खोप उत्पादन गर्नुपर्ने बताएका छन् । ‘सरकारले वैज्ञानिकहरुको समन्वयमा कोरोना खोप नेपालमै उत्पादनतिर लाग्नुपर्छ ।’ उनले भने,‘यो भाइरस चाँडै अन्त्य हुँदैन् ।’

डा.पाण्डेले कोभिड सकिएको सोच्नु गलत भएको जिकिर गर्दै भने,‘यो भाइरस समयसँगै परिवर्तन भएको छ, यसमा रोग सार्नसक्ने क्षमता अत्यधिक बढी छ ।’
सरकारले आवश्यकता अनुसार चेकजाँच गर्न नसक्दा भाइरस फैलिएको भन्दै उनले भाइरसले स्पाइकको रुपमा संक्रमण बढाएर मृत्युदर बढ्दै गएको भनाई राखे । उनले अझै कोरोना भाइरस केही वर्ष रहने हुनाले सँगै बस्ने वातावरण बनाउन समेत सबैलाई आग्रह गरे । खोपको ट्रायल समयमै नेपालमै गर्न पाएकौ भए थप क्षतिबाट जोगाउन सकिने उनको भनाई छ । उनले संकलन भएका संक्रमणका विवरण सही छन् वा छैनन् त्यो कसैले जाँच नगरेको गुनासो पोखे । उनले भने,‘कोरोना विवरण चुस्त–दुरुस्त राख्न पर्यो ।’

नमुना परीक्षण गर्दागर्दै थप समस्या निम्तिएको भन्दै उनले नमुना परीक्षण चाँडोभन्दा चाँडो गर्नुपर्ने बताए । उनले नेपालमा भाइरसका कुन–कुन भेरियन्ट छन्, कुन बढीरहेका छन्, कुन घटिरहेका छन्, त्यसको अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

कन्ट्याक्ट–टे«सिङ सुनिश्चित गरेर ठाउँअनुसार लकडाउन लगाउनुपर्ने बताए । नेपालमा कन्ट्याक्ट–ट्रेसिङलाई ध्यान दिएर जाँच नगर्दा स्थिति भयावह बन्दै गएको उनको भनाई थियो ।

कोरोना संक्रमण पत्ता लाग्ने पिसीआर र एन्टिजेनबाहेक अरुपनि नयाँ प्रविधिहरु आएको बताउँदै उनले नयाँ प्रविधिको प्रयोग गर्न सरकारलाई सुझाव दिए । तेस्रो भेरियन्ट नियन्त्रण खोपको लागि राजनितिक नेतृत्वको निर्देशनबिना प्राविधिक काम अघि बढ्न नसक्ने जिकिर गरे । उनले विदेशबाट आउनेलाई बिशेष निगरानी राख्नुपर्ने बताए । उनले जनता रहेमात्रै राजनीति रहन्छ भन्दै जनताको लागि काम गर्नसमेत आग्रह गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।