सत्तारुढ गठबन्धनमा चित्रबहादुरको ठाकठुकः देउवाले गल्ती स्वीकारे - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

सत्तारुढ गठबन्धनमा चित्रबहादुरको ठाकठुकः देउवाले गल्ती स्वीकारे


काठमाडौं । बुधबार विहान सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा बैठक बस्यो । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा गठबन्धनबीच मिहिन रुपमा छलफल भयो । पावर शेयरिङका विषयमा दलहरु अन्तारिक छलफल गर्ने र दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारेमा राजी भए ।

तर गठबन्धनमा रहने तर सरकारमा नजाने अडान लिएको जनमोर्चाले राखेका प्रस्तावहरु भने मौन रहे । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र अन्य दलका नेताहरुबीच भएको भनाभनको विषय ओझेल परेपनि ढिलागरी छताछुल्ल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित भएपछि जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आपत्ति आपत्ति जनाए । सत्ता गठबन्धन पाँच दलका नेताको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले जनता कोरोनाविरुद्धको खोप नपाएर मृत्युवरण गरिरहेका बेला सरकारको प्राथमिकता केमा हुने हो भन्दै प्रश्न गरे ।

केसीले बैठकमा जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका बेला तपाईंहरू एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्‍यो मात्रै भनिरहने भन्दै प्रश्न गरे । केसीले संघीयता र एमसीसीमै केन्द्रित भइरहने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने र प्रतिपक्षमा बस्ने चेतावनी पनि दिए ।

उनले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने भन्दै जनमोर्चा सरकारमा सहभागी नहुने भन्दै उनले गठबन्धनका साझा मुद्दामा मात्र समर्थन हुने जनाए । त्यतिमात्र होइन केसीले ‘स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?’ भन्दै प्रधानमन्त्री देउवासँग आपत्ति पनि जनाए। आफूले गरेको निर्णयप्रति प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री देउवाले ‘एक पटकलाई यस्तो भइहाल्यो आइन्दा यस्तो हुँदैन’ भन्दै आत्मालोचना गरेको कुरा बाहिरिएको छ ।

"